
नेपालअखबार,काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको भेटवार्ता ठोस सम्झौताबिना सकिएको छ ।
शुक्रबार अलास्काको एन्करेजस्थित संयुक्त सैन्य अड्डामा दुई राष्ट्रपतिबीच स्थानीय समयअनुसार साढे ११ बजे सुरु भएको बैठक साढे २ बजेसम्म चलेको थियो ।
उनीहरुको वार्तामा युद्धविरामबारे सहमति हुने अपेक्षा गरिएको थियो । तर कुनै सम्झौता नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि छलफलपछिको पत्रकार सम्मेलनमा ट्रम्प र पुटिन दुवैले वार्ता सकारात्मक भएको बताएका छन् ।
‘केही प्रगति भएको छ, धेरै बुँदामा सहमति भएको छ, केही मात्रै बाँकी छन्,’ ट्रम्पले भने । तर के-के बुदाँमा सहमति भयो उनले खुलाएनन् ।

त्यस्तै पुटिनले पनि केही बुँदामा सहमति भएको बताए तर त्यो सहमति के हो भन्नेबारे बोलेनन् । पुटिनले भने, ‘हामी अपेक्षा गर्छौं कि कीभ र युरोपेलीहरूले यसलाई सकारात्मक रूपमा लिनेछन् र अवरोध खडा गर्नेछैनन् ।’


