Saturday, April 18

लायन्स क्लव अफ पोखरा तालबाराहीद्वारा मृगौला प्रत्यारोपणका लागि फोक्सिङका गोविन्दलाई आर्थिक सहयोग

नेपालअखबार,पोखरा । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतको लायन्स क्लब अफ पोखरा तालबाराहीले आर्थिक अभावका कारण मृगौला प्रत्यारोपण गर्नबाट वञ्चित हुनुभएका पोखरा महानगरपालिका वडा नम्बर २१, फोक्सिङ निवासी ३३ वर्षिया गोविन्द प्रसाद अधिकारीलाई आर्थिक सहयोग प्रदान गरेको छ । विगत ६ वर्षदेखि उपचाररत उहाँलाई क्लवका पदाधिकारीहरु उहाँकै निवासमा पुगेर ३१ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।

पोखरा महानगरपालिका वडा नम्बर २१ का वडाअध्यक्ष दीपक प्रसाद सुवेदीको रोहबरमा गरिएको सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै वडाध्यक्ष सुवेदीले लायन्सको यो सहयोगप्रति कृतज्ञता जाहेर गर्नुभयो । सहयोग कार्यक्रममा क्लबका पूर्व अध्यक्ष एवं लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आई नेपालका डिस्ट्रिक्ट काउन्सिलर लायन दिपेन्द्र राई, क्लबका कोषाध्यक्ष लायन डा. सुरेश पहारी लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

कार्यक्रममा बोल्दै क्लवका अध्यक्ष लायन लेखनाथ पहारीले उपचाररत बिरामी गोविन्दप्रसाद अधिकारी पूर्ण स्वास्थ्य लाभको कामना गर्नुभयो । साथै उक्त सहयोग कार्यमा आर्थिक सहयोग उपलब्ध गराउनुहुने क्लबका सम्पूर्ण पदाधिकारी लगायत सहयोग हस्तान्तरणमा उपस्थित सम्पूर्ण महानुभावहरूमा पनि उहाँले हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्नुभएको छ ।