
नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागले सोमबार सानेपास्थित बीपी स्मृति भवनमा आयोजना गरेको अन्तरक्रिया तथा तीज शुभकामना आदान–प्रदान कार्यक्रम भव्यतापूर्वक सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू लगायत पार्टीका नेताहरूको उल्लेखनीय उपस्थिति थियो ।
सभापति शेरबहादुर देउवाले शुभेच्छुक संस्थाहरूलाई पार्टीको मेरुदण्ड भन्दै संगठन विस्तारमा अझ सक्रिय हुन आह्वान गर्दै उपस्थित सबैलाई तीजको शुभकामना पनि व्यक्त गरे ।
महामन्त्री थापाले शुभेच्छुक संस्थाले तल्लो तहमा पार्टीको नीति–कार्यक्रम पुर्याउने महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले युवापुस्तालाई आकर्षित गर्ने खालका गतिविधि बढाउनुपर्नेमा जोड दिँदै सबैलाई तीजको शुभकामना दिए ।
त्यसैगरी डा. महतले संस्थागत एकता र सहकार्यको महत्व औंल्याउँदै विभागलाई त्यसतर्फ ठोस पहल गर्न आग्रह गर्दै तीज पर्वले ल्याउने आपसी एकता र सद्भावका लागि शुभकामना व्यक्त गरे ।
कार्यक्रमका प्रमुख आयोजक एवं शुभेच्छुक संस्था समन्वय विभागका प्रमुख अब्दुल सत्तारले तीज जस्ता पर्वले नेपाली समाजमा एकता, सहकार्य र भाईचारा बढाउने उल्लेख गर्दै शुभेच्छुक संस्थाहरूलाई आपसी सहकार्य, साझा अभियान र जनहितमुखी गतिविधिमा सक्रिय बन्न आह्वान गरे ।
उनले भने, “शुभेच्छुक संस्था समन्वय विभागले कांग्रेसलाई जनस्तरसम्म जोड्ने पुलको भूमिका निर्वाह गर्नेछ। हामीले पार्टीप्रति निष्ठा, संगठनप्रति जिम्मेवारी र जनताप्रति उत्तरदायित्वलाई आधार बनाएर अघि बढ्नेछौं ।”
कार्यक्रममा उपस्थित नेताहरूले अब्दुल सत्तारको नेतृत्वमा विभागलाई विश्वासिलो, सक्रिय र परिणाममुखी रुपमा अघि बढाइने विश्वास व्यक्त गरेका थिए ।

