Saturday, April 18

इसराइली सेनाले अस्पतालमा गर्‍यो हवाई हमला, पाँच पत्रकारसहित कम्तीमा २० जनाको मृत्यु

नेपालअखबार, काठमाडौं । गजाको दक्षिणी सहर खान युनिसमा रहेको नासेर अस्पतालमा सोमबार साँझ इसराइलले गरेको हवाई हमलामा परी पाँच पत्रकारसहित कम्तीमा २० जनाको मृत्यु भएको छ। प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरू र अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले सो आक्रमण र मृत्युको पुष्टि गरेका छन्।

सो आक्रमणको व्यापक निन्दा भएको छ। र, अस्पताल तथा सञ्चारकर्मीहरूलाई लक्षित गरिएको आक्रमणमाथि छानबिनको माग गरिएको छ।

Advertisement

समाचार संस्था रोयटर्सका अनुसार यो हमलामा अस्पताल परिसरको त्यो भागलाई निशाना बनाइएको थियो जहाँ धेरै विस्थापित प्यालेस्टिनीहरूले आश्रय लिइरहेका थिए।

मृतकहरूमा समाचार संकलनमा संलग्न रहेका स्थानीय र अन्तर्राष्ट्रिय समाचार संस्थामा काम गर्ने पाँच प्यालेस्टिनी पत्रकार पनि छन्। रोयटर्सका फोटोग्राफर होसम अल-मसरी, अल जजिराका फोटो पत्रकार मोहम्मद सलामा, स्वतन्त्र पत्रकारहरू मरियम अबु दक्का र मोआज अबु ताहाको मृत्यु भएको छ। त्यस्तै एक स्थानीय समाचार एजेन्सीका पत्रकार अहमद अबु अजिजको पनि मृत्यु भएको रोयटर्सले जनाएको छ।

गजास्थित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले मृत्यु हुनेको संख्या पुष्टि गर्दै आक्रमणमा दर्जनौं अन्य घाइते भएको जनाएको छ। मन्त्रालयले यो हमलालाई ‘भयानक नरसंहार’ भनेको छ। साथै अस्पताल र स्वास्थ्यकर्मीहरूलाई विशेष सुरक्षा प्रदान गर्ने अन्तर्राष्ट्रिय मानवीय कानुनको ठाडो उल्लङ्घन भन्दै निन्दा गरेको छ।

इसराइली सेनाले हमला स्वीकार गर्दै यसलाई ‘दुःखद दुर्घटना’भनेको छ। घटनाको अनुसन्धान सुरू गर्ने घोषणा पनि गरेको छ। इसराइली सेनाले विज्ञप्ति जारी गर्दै ‘नागरिकहरूमाथि भएको हानिप्रति दुःख व्यक्त गर्दछ’ भनेको छ र हमलाको उद्देश्य अस्पताल वा पत्रकारहरूलाई निशाना बनाउनु नभएको जनाएको छ।

यो आक्रमणप्रति अन्तर्राष्ट्रिय संस्थाहरू र प्रेस स्वतन्त्रताका लागि काम गर्ने संस्थाहरूले आक्रोश व्यक्त गरेका छन्। सेन्टर फर प्रोटेक्सन अफ जर्नालिस्ट र रिपोर्टर्स विदआउट बोर्डर्सले पत्रकारहरूको हत्याको निन्दा गर्दै जवाफदेहिताको माग गरेका छन्।

गजामा इसराली सेनाको आक्रमणमा मर्ने पत्रकारको संख्या बढ्दो छ।