
नेपालअखबार, काठमाडौँ । कांग्रेस नेता शेखर कोइरालाले सरकारको औचित्व समाप्त भएको भन्दै तत्काल कांग्रेसले सरकार छाड्नुपर्ने बताएका छन् । उनले राजाको कालमा पनि नभएको दमन वर्तमान केपी ओली नेतृत्वको सरकारले गरेको भन्दै कांग्रेस अब सरकारमा बसिरहन नमिल्ने बताए ।
‘अब एउटा गृहमन्त्रीले राजीनामा दिनुको कुनै अर्थ छैन, कांग्रेस सरकारबाटै अलग हुनुपर्छ, यो सरकारमा अब एकछिन पनि रहन हुन्न’ कोइरालाले कान्तिपुरसँगको कुराकानीमा भने । करको दायरामा आएका सामाजिक सञ्जाललाई बन्द गर्ने सरकारको निर्णय आफ्नो अलोकप्रिय काम छोप्नका लागि मात्रै भएको कोइरालाको भनाइ थियो ।‘जेन–जीहरुको निकालेको शान्तिपूर्ण आन्दोलनमा अन्धाधुन्ध गोली चलाएर राजाको शासनमासमेत नभएको घटनाको झल्को दिएको छ, यो कदम निरंकुश र अधिनायकवादको पराकाष्ठा हो, तत्काल जेन–जीहरुको माग पूरा गरिनुपर्छ,’ कोइरालाले भने,‘भ्रष्ट्राचार आजको आम नागरिकको मुद्दा हो । यसलाई निर्मूल गर्ने बाटो नसमात्ने हो भने मुलुक अर्को द्वन्द्वको चपेटमा जान सक्ने अवस्था बन्छ ।’

