Monday, July 6

पत्रकार र सञ्चार संस्थाहरूलाई जिम्मेवारीपूर्वक काम गर्न महासंघको अपिल

नेपालअखबार, काठमाडौँ । नेपाल पत्रकार महासंघले देशभरको विषम परिस्थितिमा पत्रकार र सञ्चार संस्थाहरूलाई जिम्मेवारीपूर्वक काम गर्न अपिल गरेको छ।

Advertisement

महासंघका महासचिव रामप्रसाद दाहालले एक विज्ञप्ति जारी गर्दै पत्रकारिताको धर्म निर्वाह गरिरहेका सबैको प्रशंसा गर्दै निर्बाध रूपमा समाचार सङ्कलन र सम्प्रेषण गर्ने वातावरण सुनिश्चित गर्न पनि आग्रह गरेका छन्।

Advertisement
Advertisement

महासंघले पत्रकारहरूलाई संविधान र कानुनले दिएको प्रेस स्वतन्त्रताको उपभोग गर्दै पत्रकार आचारसंहिताको पालना गर्न र सत्य, सन्तुलित तथा विश्वसनीय समाचार मात्र प्रकाशन गर्न सुझाएको छ। यसै गरी, जनतालाई सुसूचित गर्ने दायित्व पूरा गर्न कुनै पनि पक्षबाट अवरोध नहोस् भन्नेमा महासंघ सचेत रहेको र सम्बद्ध पक्षहरूसँग समन्वय गरिरहेको पनि जनाएको छ।

Advertisement

विज्ञप्तिमा निषेधित क्षेत्र र कर्फ्युको समयमा समाचार सङ्कलन गर्न जाँदा सुरक्षाका लागि विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। महासंघले परिचय खुल्ने परिचयपत्र बोक्न, प्रेस ज्याकेट लगाउन, समूहमा हिँड्न र आफ्नो सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्न पत्रकारहरूलाई आग्रह गरेको छ।

पत्रकार तथा सञ्चार माध्यममाथि कुनै पनि प्रकारको धम्की, त्रास, आक्रमण वा अवरोध भएमा महासंघलाई जानकारी गराउन पनि आग्रह गरिएको छ। यसै गरी, सञ्चारगृहहरूलाई पनि आफ्ना पत्रकारहरूको सुरक्षामा ध्यान दिन अनुरोध गरिएको छ।