Friday, July 31

सेनाको सुरक्षामा रहेका शीर्ष नेताहरूमाथि अघोषित नजरबन्द

नेपालअखबार,काठमाडौं । नेपाली सेनाको सुरक्षामा रहेका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसहित निवर्तमान मन्त्रिमण्डलका सदस्य र शीर्ष नेताहरू अघोषित नजरबन्दमा परेका छन् ।

Advertisement
उनीहरूको मोबाइल फोन स्वीच अफ गर्न लगाइएको बाहिरबाटै उनीहरूको सम्पर्कमा रहेका दलका नेताहरूको भनाइ छ । दिउँसोसम्म सम्पर्कमा रहेका नेताहरूसँग एकाएक सम्पर्क विच्छेद भएको उनीहरूले बताएका छन् ।

अन्योल बढिरहेको बेला शान्ति सुरक्षा कायम गर्न र थप स्थिति बिग्रिन नदिन सेनाले मध्यरातसम्म बोल्ड कदम चाल्ने अनुमान गरिएको छ ।

Advertisement
Advertisement

जेनजीको आन्दोलनका क्रममा आगजनी, तोडफोड तथा हिंसात्मक गतिविधि बढेपछि सेनाले कामचलाउ प्रधानमन्त्री ओली, मन्त्रीहरू, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधव नेपाललगायतका शीर्ष नेताहरूलाई सुरक्षाका लागि आफ्नो नियन्त्रणमा राखेको थियो ।

Advertisement

आजदेखि दलका कार्यकर्ता सडकमा आउन थालेपछि थप सुरक्षा चुनौती बढ्न नदिन भन्दै सेनाले उनीहरूलाई कार्यकर्ताबाट सम्पर्क विच्छेद गराइएको स्रोतले बतायो ।

पाँचखालस्थित संयुक्त राष्ट्र संघ तालिम केन्द्र युनिफिल्डका टोलीसहित काठमाडौं उपत्यकामा सेनाको संख्या बढाइएको छ । आजै साँझदेखि काठमाडौंमा व्यक्तिमाथि सुरक्षा जाँचसहित व्यक्ति हिँडडुलमा समेत कडाइ गरिएको छ ।

सैनिक स्रोतका अनुसार आज रातिको कर्फ्यूलाई कडा गर्न सैनिक मुख्यालयले उपत्यका पृतना र सैनिक प्रहरीलाई आदेश दिएको छ । आवतजावत गर्न पाइने भनिएका अत्यावश्यक सेवाका नाममा अनुचित मानिसको घुसपैठ हुने सम्भावनालाई गम्भीरताका साथ लिन भनिएको छ ।

देशको वर्तमान संकटपूर्ण अवस्थालाई मध्यनजर गर्दै प्रधानसेनापतिले मित्रराष्ट्र चीनको पूर्व निर्धारित भ्रमण कार्यक्रम रद्द गरेकाे सैनिक मुख्यालय स्रोतले जनाएको छ ।