Friday, July 31

चितवन कारागारका ५४ कैदीबन्दी फर्किए

नेपालअखबार,भरतपुर । चितवनको भरतपुर कारागारबाट भागेका कैदीबन्दी फर्किन थालेका छन् । बुधबार बिहान आगजनी गरेर निस्किएका कैदीबन्दीमध्ये ५४ जना आफैँ फर्किएका हुन् ।

Advertisement

भरतपुर कारागारबाट ७४० कैदीबन्दी भागेका थिए । अहिले क्रमशः फर्किन थालेको जिल्ला कारागार चितवनका प्रमुख रवीन्द्र ढुङ्गानाले जानकारी दिए । बुधबार बिहान नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीको घेरा तोडेर कैदीबन्दी बाहिर निस्किएका थिए । उनीहरुलाई फोन गरेर बोलाएपछि आउने क्रम जारी रहेको ढुंगानाले बताए ।

Advertisement
Advertisement

“बुधबारको माहोल बेग्लै थियो । त्यतिखेर सबै निस्किएर गए”, ढुङ्गानाले भने, “सरकारले भागेका व्यक्तिहरुलाई जसरी पनि समात्छ  भनेर पनि हुनसक्छ फर्किएका छन् ।” कैदीहरुले कारागार तोडफोड गर्दै आगजनी गर्न थालेपछि उनीहरुलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मे परेको थियो ।

Advertisement

आगजनी गर्न थालेपछि कारागारमा तैनाथ सुरक्षाकर्मीहरु कैदीहरुलाई छाड्न बाध्य भएका थिए । उनीहरुले मूल गेटमा आगो लगाएका थिए । ५५० क्षमता रहेको चितवन कारागारमा ७४० कैदीबन्दी थिए । जसमा ४६ जना महिला रहेको ढुङ्गानाले जानकारी दिए।