Saturday, August 1

डा. शेखर कोइरालाले भने खरानी बीजबाट नूतन कांग्रेसको नवनिर्माणमा जुटौँ

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको पछिल्लो राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्दै ‘जेनजी’ आन्दोलनको युवा ऊर्जा र चेतनाको कारण दुई ठुला राष्ट्रिय दल सत्ताबाट बाहिरिन बाध्य भएको बताएका छन्।

Advertisement

भदौ २३ र २४ गतेको घटनापछि उदाएको नयाँ सरकारले आम नागरिकको भरोसा जित्ने विश्वास व्यक्त गर्दै डा. कोइरालाले यसलाई सतर्कतापूर्वक हेर्नुपर्ने बताएका छन्।

Advertisement
Advertisement

यद्यपि, उनले भदौ २४ गतेको आन्दोलनको क्रममा भएको लुटपाट, आगजनी र तोडफोडको कडा निन्दा गरेका छन्। विशेषगरी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा भएको आक्रमण र उहाँकी पत्नीमाथि भएको हातपातलाई उनले ‘जघन्य अपराध’ को संज्ञा दिएका छन्। उनले भनेका छन्, ‘यसको जति निन्दा गरे पनि कम हुन्छ।

Advertisement

आफ्नो पार्टीको विगतको समीक्षा गर्दै डा. कोइरालाले कांग्रेसले विगतमा केही ‘रणनीतिक भूल’ गरेको र युवाको भावनालाई बुझ्न नसकेको स्वीकार गरेका छन्। उनले भनेका छन्, ‘हामी समाज र युवाको भावनालाई राष्ट्रिय भावधारामा समाहित गर्दै एउटा शक्तिशाली राष्ट्र निर्माणमा समर्पित हुनेछौँ।’

कोइरालाले पार्टीभित्र नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउनुपर्नेमा जोड दिएका छन्। उनले ‘अब सत्ताको केन्द्रमा को छ वा पार्टीको केन्द्रमा को छ भन्ने विषय गौण भएको’ बताउँदै ‘जनताको केन्द्रमा बस्ने अभियानमा लाग्नुपर्ने’ बताएका छन्।

भदौ २४ गते जलाइएको विराटनगरस्थित आफ्नो निवास ‘कोइराला निवास’ मा भएको क्षतिप्रति उनले भने, ‘कोइराला निवासको भौतिक संरचना खरानी हुनसक्छ, तर विचार र लोकतान्त्रिक आन्दोलनलाई जलाउन सकिन्न।” उनले जलेको कोइराला निवासको खरानीबाटै ‘नूतन कांग्रेसको नवनिर्माण’ मा जुट्ने प्रण गर्नुपर्ने बताएका छन्।

अन्तमा, उनले बीपी कोइरालाको ’नेपाल पक्कै ब्युँझिन्छ जय नेपालको नाराले’ भन्ने दिव्यवाणीलाई स्मरण गर्दै देशभरि यसलाई बुलन्द गर्न आह्वानसमेत गरेका छन्।

नेपालको पछिल्लो राजनीति अवस्थाका बारेमा नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाको धारणा :
प्रिय साथीहरू
मुलुक भित्र उत्पन्न राजनीतिक परिस्थितिबारे हामी सबै जानकार नै छौँ । मुलुक वेगवानरुपमा नयाँ दिशातर्फ दौडिन खोजेको छ । देशको राजनीतिमा नयाँ प्रयोग अगाडि आएको  छ । हामीले यसलाई सतर्कतापूर्वक हेर्नुपर्छ ।
यही भाद्र २३ र २४ गते देशमा जे जस्ता घटनाहरू घटे र त्यसको परिणाम स्वरूप ‘जेनजी’ आन्दोलनको युवा ऊर्जा र चेतनाबाट प्रस्फुटन भएको नयाँ सरकारले आम नागरिकको भरोसा र विश्वास जितेर काम गर्नेछ भन्नेमा म विश्वस्त छु ।
म यहाँ जेनजी आन्दोलनलाई कसरी हेर्नुपर्छ र तत्कालीन सरकारले कसरी हेर्‍यो भन्नेबारे समीक्षा गर्दिन, यसबारे मैले भाद्र २३ गते सरकार संयम भएन भनेर आफ्नो विचार सार्वजनिक रूपमा राखेको कुरा साथीहरूलाई विदितै छ ।
भाद्र २४ गते आन्दोलनको आव्हान गर्ने जेनजीको नाममा भएको सार्वजनिक सम्पत्तिको लुटपाट र आगजनी, व्यक्तिको सम्मानमा पुर्‍याएको पाशविक व्यवहार र समाजमा फैलाएको त्रासलाई किमार्थ पनि सभ्य समाजले २१ औँ शताब्दीमा आन्दोलन वा समाज परिवर्तन भन्न सक्तैन ।
त्यस क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जसको लोकतान्त्रिक आन्दोलनमा अतुलनीय त्याग, सङ्घर्ष र इतिहास छ, उहाँ माथि घरमा बसिरहेको समयमा पत्नी समेतमाथि गरिएको हातपात र लुटपाटलाई म जघन्य अपराधको कोटीमा राख्छु,  यसको जति निन्दा गरे पनि कम हुन्छ ।
हिजो कांग्रेस कहाँ चुक्यो ? के भयो ? र के हुनुपर्थ्यो ? भनेर म यहाँ समय खर्च गर्न चाहन्न । अब नयाँ परिस्थितिमा नेपाली कांग्रेसका साथीहरू कसरी अगाडि बढ्ने भन्ने प्रश्न हामी सामु छ । यस विषम परिस्थितिमा हाम्रो पार्टीका अग्रजहरूबाट हामी शिक्षा लिन सक्छौँ । हाम्रा अग्रजहरू बीपी कोइराला, गणेशमान सिंह , कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायत अनेकन् योद्धाहरूले लोकतान्त्रिक आन्दोलनमा छोडेको पदचिह्नबाट भावी कांग्रेसको दिशा निर्धारण गर्नुपर्दछ ।
साथीहरू,
लोकतान्त्रिक समाजवादको दियोलाई हिमाल, पहाड र तराई- मधेसमा कांग्रेस नेता र कार्यकर्ताहरूले अनेकन् कष्ट, यातना र बलिदान दिएर निभ्न दिएनन् । यो हाम्रो प्रेरणाको श्रोत हो । आज फेरी एक पटक लोकतान्त्रिक इतिहासका ती योद्धा, नेता र सहिदहरूलाई सम्झेर कांग्रेसले भावी दिनमा आफ्नो भूमिका तय गर्नुपर्नेछ । हामीसँग आँसु बगाएर र पश्चात्ताप गरेर खेर फाल्ने समय छैन, निश्चय नै विगतमा हामी आम नेपाली दाजुभाइ दिदीबहिनीहरूले गरेको अपेक्षा अनुरूप खरो उत्रिन सकेनौँ होला । यसको लागि गर्नुपर्ने प्रायश्चित गर्न हामी पछि पर्दैनौँ, गर्नुपर्छ ।
मुख्य कुरो आज नेपाली समाजमा परिवर्तनको तीव्र चाहना छ । हाम्रा युवाहरू आफ्नै देशमा आफ्नो सुन्दर र समृद्ध भविष्यको खोजीमा छन् । कांग्रेस त्यसको माध्यम बनोस् र बन्नुपर्छ भन्ने आम नागरिकको चाहना छ । हाम्रो भावी ध्येय यसैमा केन्द्रित हुनुपर्छ भन्ने मलाई लाग्छ ।
समयको पदचाप अनुरूप हामी हिँड्न नजान्दा जेनजीको आन्दोलनले दुई ठुला राष्ट्रिय दललाई सत्ताबाट बाहिरिन बाध्य पार्‍यो । नेपाली समाज र यहाँका ऊर्जावान् युवाहरू एकातिर छन्, कांग्रेसको सोच र दृष्टिकोण अर्कोतिर बग्यो, केही रणनीतिक भूलहरू भए, हामी चुक्यौँ । समाज र युवाको भावनालाई राष्ट्रिय भावधारामा समाहित गर्दै एउटा शक्तिशाली राष्ट्र निर्माणमा हामी समर्पित हुनेछौँ भन्ने प्रण गर्छौँ ।
साथीहरू,
जसरी देशमा नयाँ सम्भावनाहरू प्रकट भइरहेका छन् । नयाँ घटनाहरू अगाडि आएका छन् । यी सबैको संवाहक भएर नेपाली कांग्रेस अगाडि आउनु परेको छ । कांग्रेस भित्र नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउने जिम्मेवारी तपाई हामी सबैको हो । यसको लागि देशव्यापी बहस, छलफल र विवेकपूर्ण कदमहरू कसरी अगाडि बढाउने भनी म तपाईँहरू बिच दसैँ लगत्तै देशव्यापी रूपमा आउनेछु।
अन्तमा,
सत्ताको केन्द्रमा को छ ? पार्टी केन्द्रमा को छ ? अब यस्ता विषय गौण भए । हामी जनताको केन्द्रमा बस्ने अभियानमा लागौँ । पार्टी  “न दाजुको न भाइको कांग्रेस कांग्रेसजनको” भनेर अगाडी बढौँ । जनताको भरोसा र विश्वासलाई शिरोधार्य गर्दै अगाडि बढे राष्ट्र निर्माणको अभिभारा स्वतः तपाई हाम्रो जिम्मेवारीमा आउँछ । बीपी कोइरालाको दिव्यवाणी सम्झौँ “नेपाल पक्कै ब्युँझिन्छ जय नेपालको नाराले” फेरी एक पटक देशभरि यसलाई बुलन्द गरौँ ।
बीपीका पिताजी कृष्णप्रसाद कोइरालाले १ सय वर्ष भन्दा अगाडि निर्माण गर्नुभएको विराटनगरको “कोइराला निवास” जहाँ म बस्थेँ । जहाँ हजारौँ लोकतान्त्रिक योद्धाहरूको भावना जोडिएको थियो । लोकतान्त्रिक आन्दोलनको धरोहर थियो कोइराला निवास । नेपालको लोकतान्त्रिक आन्दोलनको मन्दिर थियो । भाद्र २४ गते जलेको छ, जलाइएको छ ।
कोइराला निवासको भौतिक संरचना खरानी हुनसक्छ । तर विचार र लोकतान्त्रिक आन्दोलनलाई जलाउन सकिन्न । बीपी विचार मर्न सक्तैन ।  पिताजीको सामाजिक आन्दोलनको विज र राज्यलाई प्रश्न गर्ने क्षमताले  विश्राम किमार्थ लिँदैन । कोइराला निवासको खरानी बीजबाट नूतन कांग्रेसको नवनिर्माणमा जुट्ने प्रण गरौँ ।
डा शेखर कोइराला
२०८२ भाद्र २८ गते ।