Tuesday, May 5

जेनजी आन्दोलनमा ज्यान गुमाएका आलमको गरियोअन्त्येष्टि

नेपालअखबार,वीरगन्ज ।काठमाडौंमा जेनजीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका वीरगन्ज–१२ मुर्लीका २२ वर्षीय असहाब आलमको शनिबार वीरगन्जमा अन्तिम दाह संस्कार गरिएको छ ।  काठमाडौंबाट शुक्रबार राति मुर्लीस्थित घरमा ल्याइएको आलमको शव शनिबार बिहान जनाजा –शवयात्रा निकालेर मुर्ली पोखरी नजिकको कब्रस्तानमा लगेर मुस्लिम रितिरिवाज अनुसार अन्त्येष्टि गरिएको हो ।

आलम विगत तीन वर्षदेखि अध्ययन तथा रोजगारीका सिलसिलामा काठमाडौंमा बस्दै आएका थिए । गत मंगलबार जेनजीको  प्रदर्शन भइरहेका बेला पठाओ राइडर रहेका आलमले एक यात्रुलाई गोङ्गबु लिएर जाँदै थिए । त्यहि बेला  प्रहरीले चलाएको गोली लागेर आलमको ज्यान गएको वीरगन्ज–१२ का पूर्व वडाध्यक्ष तुफान अन्सारीले बताए ।

Advertisement

null

अन्सारीका अनुसार,आलमको पेट र छातीमा गोली लागेको थियो । गत मंगलबार बिहान १० बजेदेखि सम्पर्कविहीन भएपछि खोजी गर्दा आलमको शव काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भेटिएको जानकारी अन्न्सारीले दिए ।

वीरगन्जको ग्लोबल बिजनेस कलेजबाट व्यवस्थाापन संकायमा कक्षा १२ उत्तीर्ण गरेका आलम स्नातक अध्ययनका लागि काठमाडौं गएका थिए । त्यहाँ उनले पठाओ राइडरको पनि काम गर्दै आएका थिए ।