Tuesday, April 21

कास्की प्रशासन खुल्यो, दुईवटा कोठाबाट सेवा सुरु

नेपालअखबार,पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले दुईवटा कार्यकक्षबाट सेवा दिन सुरु गरेको छ । जेनजी आन्दोलनका नाममा भएको आगजनीका कारण कार्यालयको मुख्य भवन र सम्पूर्ण कागजात नष्ट भएको छ ।

परिसरभित्रको दुईकोठे भवनलाई व्यवस्थापन गरेर कार्यालयले सोमबारदेखि सेवा दिन सुरु गरेको हो ।

Advertisement

शान्तिसुरक्षा, मुद्दाको म्याद थप र दैनिक प्रशासनिक कार्यहरू सम्बन्धी सेवा सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । कार्यालयका अन्य कक्षहरू मर्मत सम्भार गर्ने क्रममा भएकाले क्रमिक रूपमा सेवा विस्तार गर्दै लगिने उनको भनाइ छ ।

जेनजी प्रदर्शनका क्रममा घुसपैठ गरी विभिन्न व्यक्तिहरुले प्रशासन कार्यालयमा आगजनी र तोडफोड गरेका थिए । घटनामा संलग्नहरुको खोजी भइरहेको प्रशासनले जनाएको छ । यसअघि नै सूचना जारी गरी अवाञ्चित गतिविधिमा संलग्नहरुको फोटो र भिडियो प्रमाणका रुपमा प्रशासन र प्रहरीलाई बुझाउन अपिल गरेको थियो ।