Saturday, July 25

गाजा सहरमा इजरायली स्थल आक्रमण, प्यालेस्टिनीहरूको पलायन जारी

नेपालअखबार, गाजा । इजरायलले गाजा सहरलाई कब्जा गर्ने उद्देश्यले ठुलो स्थल आक्रमण सुरु गरेपछि हजारौँ प्यालेस्टिनीहरू सहर छोड्न बाध्य भएका छन्।

Advertisement

इजरायली सेनाले गाजा सहरको ‘हमासको अन्तिम गढ’ मानिने क्षेत्रमा ३ हजार हमास लडाकुलाई परास्त गर्ने र आफ्ना बन्धकहरूलाई मुक्त गर्ने लक्ष्य राखेको बताएको छ।

Advertisement
Advertisement

रातभरको भारी बमबारीका बिच हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले तीनवटा अलग–अलग आक्रमणमा बाल अस्पताललाई निशाना बनाइएको बताएको छ।

Advertisement

मन्त्रालयका अनुसार यी आक्रमणका कारण अस्पतालका आधा बिरामी र उनीहरूका परिवार भाग्न बाध्य भएका छन्।
इजरायली सेनाले भने यस रिपोर्टको अनुसन्धान गरिरहेको जनाएको छ। यसअघि, इजरायली सेनाले दुई दिनमा गाजा सहरमा १५० भन्दा बढी ’आतङ्कवादी लक्ष्यहरू’ मा आक्रमण गरेको घोषणा गरेको थियो।

कतारद्वारा कडा निन्दा

इजरायलको यस कारबाहीको कतारले कडा निन्दा गरेको छ। कतारको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यसलाई ‘प्यालेस्टिनी जनता विरुद्धको युद्धको कार्य, नरसंहारको विस्तार र अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घन’ भएको बताएको छ।

विज्ञप्तिमा कतारले इजरायलले शान्तिको सम्भावनालाई कमजोर पार्न व्यवस्थित रूपमा काम गरिरहेको र यो अवस्थाले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा खतरा निम्त्याएको चेतावनी दिएको छ।

कतारले यो अवस्था रोक्न अन्तर्राष्ट्रिय ऐक्यबद्धता आवश्यक रहेको बताउँदै ’दुई राज्य समाधान’ का लागि फेरि एक पटक आह्वान गरेको छ।