
नेपालअखबार,काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् विघटन नगरी यसैभित्रबाट समाधान खोज्न सकिएको भए राम्रो हुने बताएका छन् ।
संसद् विघटनको घटनालाई कसरी हेर्नुभएको छ भन्ने पत्रकारहरूको जिज्ञासमा सभामुख घिमिरेले यस्तो बताएका हुन् ।
सभामुख घिमिरेले भने– ‘प्रतिनिधिसभा विघटन नगरी संसदबाटै समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो ।’ जेनजीको आन्दोलनमा घटेका घटना ज्यादै दुःखद रहेका सभामुख घिमिरेले बताए । अब अहिलेको परिस्थितिबाट उठेर ठिक ढङ्गबाट अगाडि जानु सबैको दायित्व रहेको घिमिरेले बताए ।
अन्तरिम सरकारले अहिले देखिएका समस्या समाधान गरी अगाडि बढ्नुपर्ने बताए । सभामुख घिमिरेले व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकामाथि आक्रमण भएका कारण गम्भीर परिस्थिति सिर्जना भएको बताए ।
यस घटनाको समीक्षा गरेर देशलाई उठाउनका लागि आम मान्छे, आम जनता, आम क्षेत्र सबै लाग्नुपर्ने सभामुख घिमिरेको भनाइ थियो ।

