
नेपालअखबार,जनकपुरधाम । मधेस प्रदेशसभाको बैठक असोज ७ गते बस्ने भएको छ । शनिबार सभामुख रामचन्द्र मण्डलले असोज ७ गते दिनको १ बजे प्रदेशसभा बैठक बस्ने जानकारी दिएका हुन् ।
आज बसेको सर्वदलीय बैठकले असोज ७ गते प्रदेशसभा बैठक बस्ने निर्णय गरेको उनले बताए । सभामुख मण्डलका अनुसार हालैको तोडफोड र आगजनीका कारण ध्वस्त भएको संरचनामध्ये प्रयोगयोग्य भागलाई अस्थायी रूपमा प्रयोग गर्दै सभा सञ्चालन गरिनेछ ।
साथै जलेको संरचनाको पुनर्निर्माणका लागि प्रदेश सरकारसँग आग्रह गर्ने निर्णय समेत गरिएको उनले जानकारी दिए ।
विपक्षी दलहरूको बलमिच्याईंका कारण स्थगित भएको मधेस प्रदेशसभा जेनजी पुस्ताको आन्दोलनका क्रममा संरचना नै ध्वस्त भएपछि अनिश्चित बनेको थियो । तर मुख्यमन्त्री सिंहले प्रदेशसभाबाट विश्वासको मत लिने अडान लिएपछि दलहरूको दबाबमा असोज ७ गते बैठक बस्ने निर्णय भएको जनाइएको छ ।

