नेपाल अखबार,पाेखरा। मेची–महाकाली बुहारी संयुक्त आवाज कास्कीले कार्यक्रम आयोजना गरेको छ ।आफ्नै परिवारबाट बलात्कार प्रयासपछि हत्या भएकी सुस्मिता थापाको सम्झनामा शनिबार पोखरामा दीप प्रज्वलन गरिएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले बुहारी आवाजको आन्दोलनप्रति ऐक्यबद्धता जनाए । उनले महिला हिंसा, घरेलु हिंसाका साथै सबै खाले हिंसा न्यूनीकरणका लागि सबै एकताबद्ध हुन आवश्यक रहेको बताए ।
नेपाली कांग्रेसकी नेतृ सरस्वती गुरुङले कानुनमा महिला हिंसा सम्बन्धी कडा नीति भए पनि कार्यान्वयन पक्ष फितलो हुँदा हिंसा कमी हुन नसकेको बताइन् ।

कलाकार मिलन शेरचनले महिलाको आवाज उठाउन पुरुषहरुले पनि सहयोग गर्नुपर्ने खाँचो औँल्याइन् ।
कार्यक्रममा सञ्चारकर्मी कञ्चन थापा, व्यवसायी ईशा अग्रवाल, संस्थाका कानुनी सल्लाहकार तारा शर्मा, उपाध्यक्ष मनु शर्मा र कार्यक्रम संयोजक तथा प्रेस सल्लाहकार गंगा मरासिनी बराइलीले बोलेका थिए ।
मेची–महाकाली बुहारी संयुक्त आवाज बालबालिका र दिदीबहिनीहरुको आवाज उठाउन हालै मात्र कास्कीमा गठन भएको थियो । यसको सञ्जाल देशका विभिन्न स्थानमा रहेको प्रेस सल्लाहकार बराइलीले बताइन् ।

सुस्मिता क्षेत्री थापा गत असार २ गते हेटौँडामा मृत भेटिएकी थिइन् । उनको हत्या भएको आशंकामा सुस्मिताका ससुरा प्रकाश, सासू, तुलसा, नन्दहरु दुर्गा र सीतालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

