Sunday, September 21

संघीयता सबलीकरणसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने राष्ट्रिय सभाको निर्णय

नेपालअखबार,काठमाडौं । राष्ट्रिय सभाले संघीयता सबलीकरणसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

संसद सचिवालयका अनुसार यसअघि गत जेठ ११ र १२ गते सातवटै प्रदेशमा राष्ट्रिय सभाले ‘संघीयता सबलीकरणमा राष्ट्रिय सभाको जिम्मेवारी प्रदेश र स्थानीय तहसँग समन्वय र साझेदारी’ विषयक निर्वाचक मण्डलहरूसँगको समन्वय बैठक/अन्तरक्रिया कार्यक्रम राखेको थियो ।

Advertisement

उक्त कार्यक्रमका उठेका विषयहरूलाई एकीकृत गरेर राष्ट्रिय सभामा पेश गर्ने तयारी थियो । तर, राष्ट्रिय सभामा अधिवेशन नै अन्त्य भएकाले यो अवस्थामा उक्त संघीयता सबलीकरणसम्बन्धी प्रतिवेदन प्रतिवेदन आवश्यक परिमार्जनसहित सार्वजनिक गर्ने निर्णय आइतबार भएको हो ।

राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा आइतबार बसेको बैठकमा उपाध्यक्ष विमला घिमिरे, राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरू, कार्यव्यवस्था परामर्श समितिमा रहेका सदस्यहरू, राष्ट्रिय सभा सचिव लगायत सहभागी थिए ।

बैठकमा समसामयिक अवस्थामा राष्ट्रिय सभाको भूमिकाका विषयमा छलफल भएको छ ।

यसका साथै, राष्ट्रिय सभाको १८अ‍ौं अधिवेशनमा भएका कामकारबाही समेत सार्वजनिक गर्ने निर्णय भएको छ ।