Sunday, July 26

माओवादीले समाजवादी मोर्चासँग एकताको पहल गम्भीरतापूर्वक गर्ने, अरू दलसँग मोर्चाबन्दी गर्ने

नेपालअखबार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले तोकिएको समयमा निर्वाचन गर्न ध्यानाकर्षण  गराएको छ।

Advertisement

बिहीबारदेखि सुरू हुने केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने राजनीतिक प्रस्तावमा सो विषय उल्लेख रहेको प्रवक्ता एवम् उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए।

Advertisement
Advertisement

त्यस्तै चुनावअघि नै विभिन्न दलहरूसँगको एकताका लागि पहल गर्ने प्रस्ताव प्रचण्डले राखेका छन्।

Advertisement

‘विशेषगरी समाजवादी मोर्चासँग एकताको पहल गम्भीरतापूर्वक गर्ने, विचार मिल्ने अरू दलसँग पनि एकताको पहल गर्ने प्रस्ताव छ,’ प्रवक्ता सापकोटाले भने।

प्रचण्डको प्रस्तावमा  पार्टी एकतासँगै देशभक्त तथा परिवर्तनका पक्षधरहरूसँग बृहत मोर्चा बनाउने प्रस्ताव गरिएको छ।

प्रचण्डले प्रस्तुत गर्ने प्रस्तावबारे भोलिदेखि सुरू हुने केन्द्रीय समिति बैठकमा बृहत छलफल हुनेछ।

आइतबार बसेको पदाधिकारी बैठकले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेको छ।

त्यसका लागि केन्द्रीय समिति भंग गरी त्यसलाई प्रचण्ड संयोजक रहनेगरी महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने प्रस्ताव छ।

प्रचण्डले राखेका यी सबै प्रस्तावहरू भोलिदेखि सुरू हुने केन्द्रीय समिति बैठकमा छलफल हुनेछ। छलफलका लागि प्रदेशअनुसारको समूह बनाइनेछ।

छलफलको सार समूहबाट एकजनाले हललाई सुनाउनेछ।

‘त्यसमा अध्यक्षले संश्लेषण गर्नुहुन्छ। बीच बीचमा आवश्यकताअनुसार स्थायी कमिटी सदस्यहरूले पनि बोल्नुहुन्छ,’ प्रवक्ता सापकोटाले भने।

हलले पारित गरेपछि प्रचण्डका प्रस्ताव अनुमोदन हुनेछ।