Sunday, May 10

इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा स्मल हेवेन एकेडेमीका शिक्षककाे याे लिलाकाे पर्दाफास

नेपालअखबार,इनरुवा, । सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–३ बढीस्थ रहेको स्मल हेभेन एकेडेमीका कक्षा १२ का समन्वयक तथा शिक्षक हरेराम मिश्रले आफ्नै पूर्व विद्यार्थीलाई अश्लील सन्देश पठाएर गोप्य अंग देखाएको आरोप लागेका छन्। घटना बाहिरिएपछि विद्यार्थी र स्थानीय युवा–समुदायले कडा प्रतिक्रिया जनाएका छन्।
घटना अनुसार, पिडित छात्राले बताएकोमा मिश्रले मोबाइलमार्फत अश्लील सामग्री तथा संदेश पठाउँदै पार्टी रुममा बोलाएर भिडियो कलमा अचानक आफ्नो गोप्य अंग देखाएका थिए। घटना देखिन थालेपछि उक्त छात्राले अन्यलाई ब्लक गर्ने गरेको तर अर्को नम्बरबाट फेरि सम्पर्क गरेर डराएर सहम बनाउने प्रयास गरेको पिडितले दावी गरेका छन्।
यो समाचार फैलिएपछि जेन–जी पुस्ताका विद्यार्थी र युवाहरू कलेज पुगेर सत्यतथ्य बुझ्न खोज्दा शिक्षक मिश्रले उल्टै धाकधम्की र दुर्व्यवहार गरे। त्यसबेलै कलेजभित्रै विद्यार्थी–समूहले उनलाई कुटपिट गरेका थिए। कुटपिटबाट मिश्राको टाउकोमा चोट लागेको र कलेजका अन्य शिक्षकहरूले शान्त पारेर घटनालाई नियन्त्रणमा लिएको जनाइएको छ।
घटनापछि खबर पाउँलगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले हरेराम मिश्रलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ल्याएको छ। स्रोतका दावीअनुसार घटना मिलाउने प्रयत्नका लागि केही शिक्षक र संस्थाले पावर प्रयोग गरी पिडितलाई चुप लगाउने प्रयास र विभिन्न किसिमका अफवाह फैलाएको आशंका पनि गरिएको छ। पिडित र उनका आफन्तबीच त्यो मिलाउने प्रक्रिया पनि गरिएको बताइएको छ।
निजी विद्यालय संगठन (निजी तथा आवासीय विद्यालय संगठन नेपाल, इनरुवा)ले अहिलेसम्म स्पष्ट प्रतिक्रिया नदिइएको र यसप्रकारका घटना प्रति उनीहरूको जिम्मेवारी र विद्यार्थी सुरक्षा सम्बन्धमा प्रश्न उठेको स्थानीय युवा तथा अभिभावकहरुले बताएका छन्। यस्ता घटना सम्बन्धी अन्य गुनासो पनि सुनसरी र इनरुवा क्षेत्रमा समय–समयमा आइरहेको भन्ने खबरहरू प्राप्त भइरहेका कारण अभिभावकमा चिन्ता बढेको छ।
प्रहरीले प्रारम्भिक अनुसन्धान जारी राखेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने तयारीमा रहेको स्रोतले जनाएको छ। यद्यपि पिडितवर्गले शिक्षा क्षेत्रमा कार्यरत व्यक्तिहरूले विद्यार्थीको सुरक्षा र अधिकारको सुनिश्चितता गर्न सम्बन्धित निकाय र विद्यालय व्यवस्थापनलाई कठोर कदम चाल्नुपर्ने माग गरेका छन्।

Advertisement