Thursday, July 9

डोटीमा अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु

नेपालअखबार, डोटी । डोटीमा अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । शिखर नगरपालिका–२, मुडेगाउँकी २२ वर्षीया मंगला पार्कीको अरिङ्गालको टोकाइका कारण ज्यान गएको हो ।

Advertisement

गत असोज ४ गते दिउँसो घाँस काट्न गएकी पार्कीलाई अरिङ्गालले टाउको, हात र घाँटीमा टोकेर गम्भीर घाइते बनाएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

Advertisement
Advertisement

सुस्तमनस्थिति भएकी उनको स्वास्थ्य अवस्थाबारे ढिलो गरी जानकारी भएको बताइएको छ । घटनाको करिब दुई हप्तापछि असोज १८ गते उनकी आमा मुनुली विकले छोरीलाई उपचारका लागि राजपुरस्थित महाकाली मेडिकलमा पुर्‍याएकी थिइन्।

Advertisement

मेडिकलमा रगत अभाव देखिएपछि सोही दिन उनलाई जिल्ला अस्पताल डोटीमा भर्ना गरियो । जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.सुजित मण्डलका अनुसार, पार्कीको शरीरमा रगतको कमी हुनुका साथै मिर्गौलामा पनि समस्या देखिएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई मंगलबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा रेफर गरिएको थियो ।

उपचारकै क्रममा बुधबार बिहान ४ बजेर ५० मिनेटमा पार्कीको निधन भएको सेती प्रादेशिक अस्पतालले पुष्टि गरेको छ । मृतक पार्कीका श्रीमान र दुई वर्षका एक छोरा छन् ।