Sunday, April 19

कास्की कारागारबाट गम्भीर अपराधकै कैदीबन्दी फरार

नेपालअखबार, पोखरा । जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका कैदीबन्दीमध्ये २ सय ७० जना अझै फरार छन् । पटक पटक अल्टिमेटम दिए पनि उनीहरू नफर्किएका हुन् ।

आन्दोलनअघि कास्की कारागारमा ७ सय ७३ कैदीबन्दी थिए । तीमध्ये महिला ब्लकमा ३५ र पुरुष ब्लकमा ७ सय ३८ जना रहेकामा भदौ २४ गते प्रदर्शनकारीले कारागारमा आक्रमण गरी तोडफोड गरेपछि बाहिरिएका हुन् ।

Advertisement

भागेकामध्ये केही स्वेच्छाले फर्किएका छन् भने केहीलाई प्रहरीले पक्राउ गरेर बुझाएको छ । ५ सय २१ जना कैदीबन्दी फिर्ता भैसकेका कारागार प्रमुख राजेन्द्र शर्माले बताए ।

बाँकी कैदीबन्दीको खोजी जारी छ । शर्माका अनुसार, स्वेच्छाले नफर्केकाहरूको अब प्रहरी मार्फत खोजी गर्न लागिएको छ ।

फरार कैदीबन्दीहरूमध्ये अधिकांश जबरजस्ती करणी, लागुऔषध कारोबार, कर्तव्य ज्यान, चोरी, बैंकिङ कसुर, सवारी दुर्घटनामा ज्यान जाने, सहकारीसम्बन्धी मुद्दा, बालयौन दुराचार, अभद्र व्यवहार र कीर्ते मुद्दामा सजाय काटिरहेका थिए । कारागार कार्यालयले फरारहरूको नामावली सार्वजनिक गरिसकेको र उनीहरूलाई पक्राउ गर्न प्रहरीको विशेष टोली गठन गरिएको छ ।

कारागार कार्यालयले सार्वजनिक गरेको सूची अनुसार सबैभन्दा धेरै जबरजस्ती करणी र लागू औषध तथा चोरी र कर्तव्य ज्यानका कैदीबन्दी फरार भएका छन् । जबरजस्ती करणीका ८३ जना, हाडनाता करणीका ८ जना फरार छन् ।

यस्तै लागू औषध तर्फका ५१ जना, चोरीका २१ जना, कर्तव्य ज्यानका ९ जना फरार छन् । ज्यान कसुरका छुट्टै ३ जना छन् भने आपराधिक लाभका १ जना र अपहरण तथा शरीर बन्धक गर्ने २ जना पनि अहिले कारागारको सम्पर्कमा छैनन् ।

अभद्र व्यवहार गर्ने ४ जना, सहकारी ठगीका ११ जना, सुनका १ जना, सवारी ज्यानका ५ जना, बैंकिङ कसुरका ६ जना, बहुविवाहका १ जना, चेक अनादरका ५ जना, अप्राकृतिक मैथुनका १ जना, लेनदेनका १ जना, बालबालिका सम्बन्धी कसुरका ३ जना, राष्ट्र बैङ्क ऐन कसुरका १ जना र कारागार ऐनका १ जना फरार छन् । फरार मध्ये १३ जना विदेशी छन् ।

अधिकांश लागू औषध, जबरजस्ती करणी र मानव बेचबिखन मुद्दामा कैद भुक्तान गरिरहेका थिए । ११ जना भारतीय र २ जना चिनियाँ नागरिक अहिले कास्की कारागारमा रहेकोमा फरार भएका कार्यालय प्रमुख शर्माले जानकारी दिए ।

फरार भएकाहरूको बारेमा सम्बन्धित स्थानीय तह, प्रहरी चौकी र सर्वसाधारणलाई पनि सूचना दिइएको र सम्पर्कमा नआएकालाई कानुनी प्रक्रियाअनुसार पक्राउ गरी कारागारमा ल्याउने शर्माले सुनाए ।

‘फरार कैदीहरूको सूची सार्वजनिक गरिएको छ र उनीहरूलाई नियन्त्रणमा लिन आवश्यक सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ,’ उनले भने, ‘यस विषयमा थप अनुसन्धान जारी छ र हामीले अदालतको निर्णयको सम्मान गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन तत्परताका साथ काम गरिरहेका छौँ ।’

कारागार ऐन अनुसार यसरी फरार हुने कैदीबन्दीको हकमा थप सजाएको व्यवस्था छ । ‘कारागार व्यवस्थापन विभागको निर्देशन र गृह मन्त्रालयको निर्णयअनुसार फरार रहेका कैदीहरूको विवरण सार्वजनिक गरी खोजी कार्यलाई थप प्रभावकारी बनाइएको छ,’ अघि भने, ‘जनतालाई पनि अनुरोध छ कि यदि यस्ता व्यक्तिहरू कोही भेटिएमा तुरुन्तै नजिकको सुरक्षा निकाय वा स्थानीय प्रशासनलाई जानकारी गराउनुहोस्, जसले गर्दा उनीहरूलाई तत्काल नियन्त्रणमा लिन सकियोस् ।’

केन्द्रबाट थप निर्णय भएपछि कारबाही बढ्ने उनको भनाई छ । यसैबिच, जेनजी आन्दोलनका क्रममा पोखराको ग्यारजातीस्थित बाल सुधार गृहबाट भागेका १ सय ९ जना बालकहरूमध्ये हालसम्म ९६ जना फर्किएका छन् भने १३ जना अझै फर्किन बाँकी छन् ।

सुधार गृह प्रमुख डासी पौडेलले बालबालिकालाई स्वेच्छाले फर्काउन मनोवैज्ञानिक परामर्श र कानुनी सल्लाह दिएर प्रयास भइरहेको बताए ।

बाल सुधार गृहबाट भागेका अधिकांश बालक जबरजस्ती करणीसम्बन्धी मुद्दामा सुधार गृह पठाइएका थिए । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीले फरार बालकहरूको खोजी जारी राखेको छ ।

कारागार र सुधार गृह दुवैतर्फको यो अवस्थाले सुरक्षा चुनौती बढाएपछि प्रशासनले निगरानी र सुरक्षामा थप कडाइ गरेको हो ।