Saturday, July 25

पाकिस्तान र अफगानिस्तानबीच युद्धविराम गर्ने सहमति

नेपालअखबार,काठमाडौं । पाकिस्तान र अफगानिस्तानबीच युद्धविराम गर्ने सहमति भएको छ।

Advertisement

कतारको दोहामा दुई देशका प्रतिनिधिबीच भएको लामो छलफलपछि आइतबार युद्धविराम गर्ने सहमति भएको कतारी विदेश मन्त्रालयले जनाएको छ।

Advertisement
Advertisement

कतार र टर्कीको मध्यस्थतामा भएको वार्तामा तत्काल युद्धविराम गर्ने र स्थायी शान्ति कायम गर्नका लागि दुवै देशले संयन्त्र गठन गर्ने सहमति भएको पनि कतारी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

Advertisement

झन्डै १३ घन्टासम्म चलेको वार्तमा पाकिस्तानबाट रक्षामन्त्री ख्वाजा आसिफ र गुप्तचर प्रमुख जनरल असीम मलिकले नेतृत्व गरेका थिए भने अफगानिस्तानबाट रक्षामन्त्री मौलवी मुहम्मद याकुब र राष्ट्रिय गुप्तचर एजेन्सीका प्रमुख सहभागी थिए।

कतारी विदेश मन्त्रालयले यो सहमतिले सीमाक्षेत्रमा तनाव कम गर्ने र क्षेत्रीय स्थिरताका लागि आधार तयार पार्ने आशा व्यक्त गरेको छ।

अक्टोबर ११ देखि १५ सम्म स्पिन बोल्डक, चमन, कुर्म, पक्तिया, पक्तिका, कुनर, खोस्ट, कन्दाहार र हेलमन्दमा पाकिस्तान र अफगानिस्तानको सेनाबीच भिडन्त भएको थियो।

पाकिस्तानले अफगानिस्तानमा हवाई हमला गरेपछि अफगान तालिबानले प्रतिकार गरेको थियो। त्यसबेला काबुलमा ५ जनाको मृत्यु र ३५ जना घाइते भएका थिए।

पाकिस्तान र अफगानिस्ताबीच सीमानामा भएको लडाइँमा हल्का र भारी हतियार प्रयोग भएका थिए।

झडपमा ठूलो क्षति भएको छ। संयुक्त राष्ट्रसंघीय सहायता मिसन इन अफगानिस्तान (युनामा) का अनुसार अफगानिस्तानमा ३७ नागरिक मारिएका छन् भने ४२५ घाइते भएका छन्।

पाकिस्तानी पक्षबाट २३ सैनिक मारिएका छन् भने टीटीपीको आत्मघाती हमलामा थप ७ सैनिकको ज्यान गएको छ।

अफगानिस्तानले ५८ पाकिस्तानी सैनिक मारिएको दाबी गरेको छ भने पाकिस्तानले २०० भन्दा बढी अफगान लडाकु मारिएको बताएको छ।