Wednesday, July 15

सञ्चारमन्त्री खरेलसँग भारतीय राजदूतले गरे भेट

नेपालअखबार,काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।

Advertisement

सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा दुई देशबीचको सम्बन्ध, सहकार्य, वर्तमान अवस्थाका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement

भेटमा सञ्चारमन्त्री खरेलले नेपाल र भारतबीच रहेको ऐतिहासिक सम्बन्ध, नेपालमा भारतको सहयोगमा सञ्चालित विकास आयोजनालगायत विभिन्न कालखण्डमा नेपालको सामाजिक तथा राजनीतिक विकासमा भारतबाट सहयोग एवम् सद्भावको सराहना गरे।

Advertisement

मन्त्री खरेलले नेपालको विद्यमान परिस्थितिका बारेमा उल्लेख गर्दै स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाचनलाई सम्पन्न गर्ने, भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन नै सरकारको प्रमुख प्राथमिकतामा रहेको बताए।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री खरेलले तोकिएको मितिमा नै निर्वाचन गराउनका लागि सरकारले राजनीतिक दल र जेनजी प्रतिनिधिसँग संवाद अगाडि बढाएको उल्लेख गरे।

बुधबार मात्रै सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच पहिलोपटक औपचारिक रुपमा त्रिपक्षीय बैठक भएको र सबै निर्वाचनका लागि सकारात्मक रहेको उनको भनाइ थियो।

त्यस अवसरमा राजदूत श्रीवास्तवले सञ्चारमन्त्री खरेललाई बधाई ज्ञापन गर्दै असल छिमेकीको नाताले भारतको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

भारत सरकार नेपालको आर्थिक रुपान्तरण एवम् समृद्धिका लागि नेपालको प्राथमिकताका क्षेत्रमा वित्तीय र प्राविधिक सहयोग अभिवृद्धि गर्न तयार रहेको बताए ।

भेटवार्तामा सञ्चार मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीको पनि सहभागिता थियो।