Tuesday, April 28

बीपी राजमार्ग सञ्चालन अनिश्चित

नेपालअखबार,काठमाडौँ । लगातारको वर्षापछि आएको लेदोसहितको पहिरोका कारण शुक्रबारदेखि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । निरन्तर लेदो बगिरहेकाले अवरुद्ध हटाएर कहिले सडक सञ्चालनमा ल्याउन सकिन्छ भन्नेबारे अनिश्चित बनेको सडक डिभिजन कार्यालय  भक्तपुरले जनाएको छ ।

पानी निरन्तर परिरहेकाले पहिरो हटाउने काम सुरु गर्न नसकिएको सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिएका छन् ।

Advertisement

अवरुद्ध राजमार्ग पानी रोकिएको डेढदेखि दुई घण्टाभित्र सञ्चालनमा आउने उनको भनाइ छ ।  ‘अहिले पानी निरन्तर परिरहेकाले सडक कहिले खुल्छ भनेर अनिश्चित बनेको छ,’ प्रमुख योगेशले भने– ‘तर पानी रोकिएमा डेढ–दुई घण्टाभन्दा बढी लाग्दैन, हामी तत्काल पहिरो पन्छाएर राजमार्ग सुचारु गर्छौँ ।’

योगेशका अनुसार राजमार्गको चारसय वेँसी, पिन्थली र मंगलटार क्षेत्रमा मुख्यगरी लेदो झरेको छ । साना ढुङ्गाहरू खसेका स्थानमा सफा गरिए पनि लेदो तथा हिलो निरन्तर बगिरहेकाले यी स्थानमा अवरुद्ध हटाउन समस्या भएको हो ।

स्थायी पुनर्निर्माणको काम पनि वर्षाले रोकियो

राजमार्गको स्थायी पुनर्निर्माणको काम दसैँपछि लगत्तै सुरु गर्ने तयारी भए पनि वर्षाका कारण रोकिएको छ । असोजको तेस्रो साता निरन्तर परेको वर्षाका कारण बाढी पहिरो आएपछि अस्थायी सडकमा क्षति पुगेको थियो । यसपछि तत्काल पुनः अस्थायी सडक निर्माण गरेर सञ्चालनमा ल्याइएको थियो ।

छठपछि पुनः स्थायी निर्माणको काम थाल्ने योजना रहेकोमा फेरि वर्षाका कारण केहि ढिलाइ भएको योगेशले बताए ।

‘पानी रोकिएपछि स्थायी पुनर्निर्माणको काम पनि सुरु हुन्छ, त्यसका लागि हामीले सबै तयारी गरिसकेका छौँ,’ उनले भने । राजमार्गको डिजाइन नै परिवर्तन गर्नुपर्ने चर्चाबारे उनले त्यसको आवश्यकता नरहेको स्पष्ट पारे ।  ‘डिजाइन सबै परिवर्तन गर्नुपर्ने होइन, एक–दुई ठाउँमा सामान्य रिभ्यु गर्ने कि भन्ने मात्र हो,’ योगेशले थपे ।