
नेपालअखबार, काठमाडौं । पदयात्रा र पर्वतारोहणका लागि नेपालको मुख्य पर्यटकीय सिजन मानिने अक्टोबर २०२५ मा एक महिनामै १ लाख २८ हजार ४ सय ४३ पर्यटक नेपाल भित्रिएका छन् ।
जुन अघिल्लो वर्ष सोही महिनाको तुलनामा ३.३ प्रतिशत धेरै हो । अक्टोबर २०२४ मा १ लाख २४ हजार ३ सय ९१ पर्यटक आएका थिए ।
यस महिना अमेरिकी र युरोपेली पर्यटक आगमन उल्लेख्य देखिएको छ । पहिलो नम्बरमा भारतीय देखिए पनि आगमन वृद्धिदरमा अन्य देश अगाडि छन् ।
भारतबाट अक्टोबरमा १७ हजार २ सय ९८ पर्यटक आएका छन् । अमेरिकाबाट १३ हजार २ सय ८६ आएको तथ्यांक छ । बेलायतबाट ८ हजार ७ सय १८ आएका छन् । ६ हजार ७ सय ५५ पर्यटक सहित चीन चौथो स्थानमा छ ।
त्यस्तै जर्मनीबाट ६ हजार ३ सय ६६ पर्यटक आएका छन् । पर्यटक आगमन अवस्था हेर्दा कुल पर्यटकमध्ये युरोपेलीको हिस्सा ३१.६ प्रतिशत छ । युरोपेली देशबाट ४० हजार ६ सय पर्यटक नेपाल आएका छन् । दक्षिण एसियाली राष्ट्र (सार्क) बाट २२.६ प्रतिशत पर्यटक आएका छन् ।
भारतसहित ती देशबाट २९ हजार ६० पर्यटक आएका छन् । अन्य एसियाली देशबाट २३ हजार १ सय २७ पर्यटक आएका छन् । अमेरिकी देशबाट १६ हजार ४ सय ७ र ओसियाना क्षेत्रबाट ६ हजार ८ सय १४ पर्यटक आएको देखिन्छ ।
त्यस्तै मध्यपूर्वी देशबाट ३ हजार ५ सय ४८ पर्यटक आएका छन् । अफ्रिकाबाट ४ सय ४३ जना आएको तथ्यांक छ । अन्य क्षेत्रबाट ८ हजार ४ सय ४४ पर्यटक नेपाल भित्रिएका छन् ।
जारी शरद ऋतुमा १ सय ७५ टोलीका १ हजार ४ सय ५० आरोहीले अनुमति लिएका थिए । जसबाट सरकारले २५ करोड ५१ लाख रोयल्टी संकलन गरिसकेको छ ।
१० महिनामा ९ लाख ४३ हजार पर्यटक
सन् २०२५ को १० महिनामा कुल ९ लाख ४३ हजार ७ सय १६ पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ । यो संख्या अघिल्लो वर्ष यसै अवधिको तुलनामा सामान्य अंकले धेरै हो ।
२०२४ को १० महिनामा ९ लाख ४१ हजार २४ पर्यटक आएका थिए । १० महिनामा पर्यटक आगमन दृष्टिले पहिलो नम्बरमा भारत छ । भारतबाट २ लाख ४३ हजार ३ सय ५० पर्यटक नेपाल आएका छन् । दोस्रो स्थानमा अमेरिका छ । १० महिनामा ९३ हजार ९ सय ८५ अमेरिकी नेपाल भ्रमणमा आएका छन् । तेस्रो स्थानमा चीन छ ।
त्यहाँबाट ७८ हजार ९ सय २९ जना आएका छन् । बेलायतबाट ४७ हजार २ सय ६१, बंगलादेश ४५ हजार २ सय ८७, अस्ट्रेलिया ३८ हजार ९ सय ८४, श्रीलंका ३२ हजार १ सय ३७, जर्मनी २४ हजार ८ सय ४१, थाइल्यान्ड २२ हजार २ सय ६१ र दक्षिण कोरियाबाट १९ हजार ३ सय २९ जना आएको बोर्डको तथ्यांक छ ।
यस वर्ष १० महिनामा कुल पर्यटकमध्ये दक्षिण एसियाबाट ३५.८ प्रतिशत (३ लाख ३७ हजार ५ सय ११) र एसियाका अन्य देशबाट २०.९ प्रतिशत (१ लाख ९७ हजार २ सय ९६) पर्यटक आएको देखिन्छ ।
त्यस्तै युरोपेली देशबाट १९.१ प्रतिशत (१ लाख ८० हजार १ सय ४५) पर्यटक आएको बोर्डले जनाएको छ । अमेरिकी देशबाट १२ प्रतिशत (१ लाख १३ हजार ४ सय ५९), ओसियन क्षेत्रका देशबाट ४.४ प्रतिशत (४१ हजार ९ सय २), अफ्रिकी देशबाट ०.४ प्रतिशत (३ हजार ४ सय ७९) र अन्य क्षेत्रबाट ५.५ प्रतिशत (५१ हजार ५ सय १४) पर्यटक आएको बोर्डको तथ्यांक छ ।


