Thursday, November 6

थपिए १ लाख ३६ हजार ६० जना नयाँ मतदाता

नेपालअखबार,काठमाडौं । एक लाख ३६ हजार ६० जना थपिए नयाँ मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ ।

Advertisement

निर्वाचन आयोगका अनुसार आज साँझ ८ बजेसम्मको तथ्याङ्क अनुसार थपिने मतदाताको संख्या एक लाख ३६ हजार ६० जना रहेको छ । आज मात्रै ११ हजार १९७ जना नयाँ मतदाता थपिएका छन् ।

Advertisement

हालसम्म थपिएका नयाँ मतदातामा ८१ हजार ८६४ र महिलाको संख्या ५४ हजार १७८ र अन्य १८ जना रहेका छन् ।

निर्वाचन आयोगले जेनजीलाई लक्षित गरी अध्यादेश मार्फत् मतदाता नामावलीमा नाम दर्ता खुला गरेको हो । जारी मतदाता नामावली संकलन यही कात्तिक ३० गतेसम्म जारी रहनेछ ।

आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन जारी राखिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार १६ वर्ष उमेर पूरा भएका नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नागरिकहरूले प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा गएर नाम दर्ता गर्न सक्नेछन् । सार्वजनिक बिदाको दिन बाहेक बिहान ८:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म नामावली दर्ता गर्न सक्नेछन् ।

जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले ताजा जनादेशका लागि आगामी २१ फागुनमा निर्वाचन गर्ने घोषणा गरेको छ । निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली संकलन कार्य स्वत: स्थगित हुने प्रावधान छ ।

तर, राजनीतिक परिवर्तनका लागि भूमिका निर्वाह गरेका थुप्रै युवाहरूको योग्यता पुगेर पनि मतदाता नामावलीमा नाम दर्ता नभएकाले उनीहरूका लागि नाम दर्ता गराउने कानुनी गाँठो फुकाउन सरकारले अध्यादेश ल्याएको हो ।

अध्यादेशअनुसार आयोगले मतदाता नामावली संकलन गत असोज ९ गतेबाट सुरु गरेको हो । जस अन्तर्गत मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रममा कानुन बमोजिम मतदाता हुन योग्यता पुगेका नेपाली नागरिकहरूले आफ्नो नाम दर्ता गर्न सक्ने छन् ।

यसका अलावा विवाह भएर अन्यत्र गएका, बसाइँसराइँ गरेका मतदाताले ठाउँसारी गर्न सक्नेछन् । मतदाता नामावलीमा नाम तथा अन्य विवरणमा त्रुटि भएमा पनि सच्याउन सकिनेछ ।