
नेपालअखबार,काठमाडौं । सशस्त्र प्रहरी बलले आफ्ना कर्मचारीलाई बाहिरी भेटघाटमा कडाइ गरिएको जनाएको छ ।
अबदेखि सशस्त्र प्रहरीका कुनै पनि दर्जाका कर्मचारीले उच्च पदस्थ व्यक्तिहरू, राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रतिनिधि वा सञ्चारकर्मीहरूसँग भेटघाट गर्नुअघि अनिवार्य स्वीकृति लिनुपर्ने भएको छ ।
बिहीबार मातहतका सबै कार्यालयमा परिपत्र गर्दै भेटघाटसम्बन्धी आचरण नियमावली (स्थायी आदेश) लागू गरेको सशस्त्र प्रहरीका डिएसपी तथा प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार सशस्त्र प्रहरी कर्मचारीहरूले अधिकारिक अनुमति बिना हुने भेटघाट वा छलफलले संगठनको मर्यादा र राष्ट्रिय सुरक्षामा असर पार्ने भन्दै निषेध गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘राज्यप्रदत्त जिम्मेवारीमध्ये आतंककारी गतिविधि नियन्त्रण, सशस्त्र संघर्ष नियन्त्रण, विपद् व्यवस्थापन, दंगा नियन्त्रण तथा सीमा सुरक्षा जस्ता संवेदनशील कार्यमा संलग्न रहने सशस्त्र प्रहरी कर्मचारीहरूले अनुशासन र गोपनीयताको पूर्ण पालना गर्नुपर्छ ।’
साथै कुनै पनि दर्जाका कर्मचारीले व्यक्तिगत स्वार्थका कारण गोप्य सूचना बाहिर दिएको पाइएमा वा मिडियासँग अनधिकृत सम्पर्क गरेको अवस्थामा ऐन र नियमअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ ।
मिडियासँग सूचना आदान–प्रदान गर्नुपरे प्रवक्ताको कार्यालयमार्फत् मात्र गर्न सकिने व्यवस्थामा कडाइ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
यस्तै आधिकारिक उद्देश्यका लागि भेटघाट गर्नुपर्ने भए स्थायी आदेशमा तोकिएको फाराम भरी महानिरीक्षकको सचिवालयबाट पूर्वस्वीकृति लिनुपर्ने उल्लेख गरिएको छ ।
‘संगठनले माइनस २० डिग्री सेल्सियसदेखि ४० डिग्री सेल्सियससम्मका कठिन परिस्थितिमा २४ सै घण्टा राष्ट्रसेवामा समर्पित भएर कार्य गर्ने सशस्त्र प्रहरीका सदस्यहरूको मनोबल उच्च राख्ने लक्ष्य लिएको छ । कसैको दबाब वा भनसुनका आधारमा अवसर वितरण गर्न सकिँदैन,’ विज्ञप्तिमा छ ।
यस्तै वरिष्ठ अधिकृतहरूबाट व्यक्तिगत स्वार्थमा आधारित गतिविधि र समूह निर्माणका प्रयासहरू संगठनविरुद्धको कार्य हुने भन्दै कारबाहीको चेतावनी दिइएको छ ।
‘विशेष गरी सिनियर अधिकृतहरुबाट व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखी उल्लेखित क्रियाकलापमा सकृय हुँदै आउने र संगठनभित्र समूह निर्माण गर्न अग्रसर हुने कुरा सशस्त्र प्रहरी नियमावली भन्दा बाहिर रहने हुँदा त्यस्ता कर्मचारीहरुलाई ऐन नियम बमोजिम कारवाही गरिने बताइएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
सशस्त्र प्रहरीले राजश्व चुहावट नियन्त्रण, सीमा सुरक्षा, शान्ति–सुरक्षा र विपद् उद्धार जस्ता संवेदनशील जिम्मेवारीमा बफादारी र अनुशासनका साथ लाग्न निर्देशन दिएको छ । साथै, कुनै पनि कर्मचारी नियमविपरीत गतिविधि वा राजश्व चोरी निकासीमा संलग्न भएको थाहा पाए सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।


