Saturday, November 15

सङ्कटको बेला कांग्रेस आत्मघाती बाटो छाडेर एकजुट हुनुपर्छ : प्रवक्ता महत

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी, लोकतन्त्र र देश अहिले अभूतपूर्व सङ्कटबाट गुज्रिरहेको भन्दै आन्तरिक शक्ति सङ्घर्ष छाडेर एकजुट हुन नेतृत्वलाई आग्रह गरेका छन् ।

Advertisement

नेपाल कांग्रेस केन्द्रीय समितिको जारी बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘आज देश सङ्कटमा छ, हाम्रो पार्टी सङ्कटमा छ, लोकतन्त्र सङ्कटमा छ, हामी व्यक्तिगत रूपमा पनि सङ्कटमा छौँ।’

Advertisement

पार्टी बहस अधिवेशनमै सीमित, राष्ट्रिय मुद्दा ओझेलमा

डा. महतले महासमितिको बैठकमा हाम्रो सम्पूर्ण बहस ८४ को निर्वाचनमा गठबन्धन गर्ने नगर्ने भन्ने विषयमा केन्द्रित भयो अहिले केन्द्रीय समितिको छलफल विशेष महाधिवेशन की महाधिवेशन भन्नेमै सीमित भएको बताएका छन् ।

राष्ट्रिय मुद्दामा छलफल नै भएन, यो दुर्भाग्यपूर्ण हो,’ उनले भने। उनले सङ्कटको कारण, समाधान र पार्टीको नेतृत्वदायी भूमिकाबारे छलफल हुनुपर्नेमा त्यो हुन नसकेको बताए ।

२४ गतेको विध्वंसलाई ‘उपलब्धि’ मान्न सकिँदैन

उनले भने ‘नवपुस्ताले गत भदौ २३ गते सुशासन सुनिश्चित गर्ने माग राखेर गरेको आन्दोलन प्रति हामी सहमत छौँ तर २४ गते भएको विध्वंसका घटनाहरूलाई उपलब्धि मान्न सकिँदैन ।सिंहदरबार, सर्वोच्च, संसद्, राष्ट्रपति भवनसम्म आक्रमण हुने घटना युवापुस्ताको स्वतःस्फूर्त आवेग होइन, उनीहरू केवल माध्यम मात्र थिए,’ उनले भने।

३६ साल, ४२ साल, ४६ र ६२/६३ का आन्दोलनमा आफू अग्रपंक्तिमा लडेको स्मरण गर्दै उनले थपे– ’म जीवनभर सङ्घर्षमा होमिएँ, तर आज पार्टी आफैँ आत्मघाती बनेको देख्दा पीडा हुन्छ।’

आन्तरिक घेराबन्दी पार्टीकै लागि घातक

आफूमाथि पार्टीभित्रैबाट चरित्रहत्या भएको उल्लेख गर्दै महतले भने– ‘प्रतिस्पर्धा विपक्षीसँग हुनुपर्ने हो, तर हामी आफ्नैभित्र कसलाई कमजोर पार्ने, हटाउने भन्ने खेलमा लागेका छौँ।’

उनले नुवाकोटको राजनीतिक यात्राका उदाहरण दिँदै आफूलाई सामाजिक सञ्जालहरूमा विभिन्न उपमा दिएर गाली गलौज गर्नु गलत भाष्य भएको जिकिर गरे। ’टिकट जसले पनि पाउँछ, जित्ने भए टिकटकै भरमा सबै जित्थे। चुनौतीपूर्ण क्षेत्रमा मैले मैदान बनाएको हुँ,’ उनले भने ।

सत्य दबिँदा झुट बलियो हुन्छ

बीपी कोइरालालाई उद्धृत गर्दै उनले भने– ’जब सत्यको मुख बन्द हुन्छ, झुटको थुतुनो चल्छ।’ ’आज पार्टीमा सत्य बोल्नेको मुख बन्द छ, तर झूट र आक्रमण आफ्नै विरुद्ध चर्को छ,’ उनले थपे ।

सङ्कट आउनुका दुई प्रमुख कारण: सुशासन र कूटनीतिक असन्तुलन

उनले भने ‘सुशासनमा ‘जिरो टोलरेन्स’ अब नारामा होइन, व्यवहारमै लागू गर्नुपर्छ, नेपाल कुनै शक्ति राष्ट्र विरुद्ध प्रयोग हुने भूमि बन्दैन भन्न सकेनौँ, त्यो कमजोरी सच्याउनु पर्छ ।’

कांग्रेसले लिनुपर्ने ३ प्रमुख नेतृत्वकारी पहल

महतले कांग्रेसले अब तत्काल ३ निर्णय लिनुपर्ने बताएका छन् । सुशासनमा शून्य सहनशीलता लागू गर्ने सङ्कल्प,अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलनमा राख्ने स्पष्ट कूटनीतिक प्रतिबद्धता, देशव्यापी राष्ट्रिय संवादको नेतृत्व कांग्रेसले सुरु गर्ने ।

पहिले महाधिवेशन होइन, राष्ट्रिय निर्वाचनको तयारी 

महाधिवेशन र विशेष अधिवेशनको बहसभन्दा पार्टीको ध्यान अब राष्ट्रिय निर्वाचनमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

’अधिवेशन अहिले कि पछि भन्ने बहसभन्दा पहिले देशलाई चुनौतीबाट निकाल्ने नेतृत्व दिनुपर्छ,’ महतले भने। ’फागुनमा चुनाव भयो भने कांग्रेस एक ढिक्का भएर जानुपर्छ, भएन भने महाधिवेशनको वैकल्पिक समय–सीमा तय गरौँ,’ उनले प्रस्ताव राखे ।

उनले क्रियाशील सदस्यता समयमै टुङ्ग्याउन, वडा तहसम्म कार्यतालिका बनाउन र निर्वाचनपछि मात्रै पूर्ण महाधिवेशन गर्न सुझाव दिए ।

पार्टी एकता नै सङ्कट समाधानको उपाय

उनले भने’को सभापति बन्छ, को नेतृत्वमा आउँछ भन्ने बहसभन्दा माथि उठौँ।’ ’सङ्कटमा पार्टी फुटाउने होइन, जोड्ने हो। विवाद सहज समयमा गर्न सकिन्छ, सङ्कटमा होइन।’’कांग्रेस एक भयो भने देशलाई पनि जोगाउन सक्छ, लोकतन्त्रलाई पनि बलियो बनाउन सक्छ,’ उनले भने ।

अहिले देश सङ्कटमा भएको बेला बिपी कोइरालाले त्यो बेला भनेको राष्ट्रिय मेलमिलापको सन्दर्भ अहिले फेरी सान्दर्भिक भएको छ ।