
नेपालअखबार, काठमाडौँ । जसंस्था फर्काउने उद्घोषसहित आन्दोलन घोषणा गरेका दुर्गा प्रसाईं भारतीय सुरक्षा संयन्त्रको समेत निगरानीमा परेका छन् । भारतको बाह्य गुप्तचरी निकाय ‘रिसर्च एन्ड एनालाइसिस विङ (रअ)’ ले उनको गतिविधिलाई निगरानीमा राखेको हो ।
प्रसाईंको गतिविधिले भारतको सुरक्षामा समेत चुनौती थप्न सक्ने भन्दै भारतले निगरानीमा राखेको उच्च सुरक्षा स्रोतले पुष्टि गरेको छ । नयाँदिल्लीबाट शुक्रबार बेलुकी काठमाडौं फर्किने क्रममा उनलाई भारतीय अध्यागमनले केरकारसमेत गरेको छ ।
अध्यागमनका अधिकारीहरूले उनलाई ‘होल्ड’ गराएको जानकारी दिल्लीस्थित नेपाली दूतावाससम्म पुगेको थियो । त्यसपछि भारतका लागि नेपाली राजदूत शंकर शर्माले भारतीय अधिकारीहरूसँग छलफल गरेका थिए । करिब ४० मिनेटपछि बल्ल प्रसाईं स्वदेश फर्किन पाएका थिए । उनी नेपाल एयरलाइन्सको उडान नम्बर आरए २१८ बाट काठमाडौं आएका छन् ।
प्रसाईं गएको सोमबार नेपाल एयरलाइन्सकै विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दिल्ली गएका थिए । त्यसबेलासमेत उनलाई भारत प्रस्थानमा अनुमति दिने/नदिनेबारे विमानस्थल अध्यागमन कार्यालयले गृह मन्त्रालयसँग सोधेको थियो । त्यसबेला कानुनअनुसार जे हुन्छ, त्यही गर्न मन्त्रालयले निर्देशन दिएको थियो ।
ती अधिकारीका अनुसार भारतको बाह्य गुप्तचरी निकाय रअसँग सम्बन्धित अधिकारीले नेपाली पक्षलाई त्यसबारे जानकारी गराएका थिए । प्रसाईंलाई समेत अनौपचारिक तरिकाले त्यसबारे जानकारी दिइएको थियो । त्यसपछि भारत भ्रमण स्थगन गरेका प्रसाईं सोमबार त्यसतर्फ प्रस्थान गरेका थिए । भारत प्रस्थानपछि उनले आफ्नो भारतसँग दूरी बढेको भन्दै झूटको खेती गरिएको दाबी सामाजिक सञ्जालमार्फत गरेका थिए ।
भारतीय अध्यागमनको केरकारमा परेपछि भने प्रसाईंले दिल्लीस्थित नेपाली दूतावासबाट इमेल पठाएर रोकिएको भन्दै नेपाली अधिकारीहरूप्रति आक्रोश पोखेका छन् । खासगरी उनी नेपाली राजदूत शर्माप्रति आक्रोशित देखिएका छन् । तर, दिल्लीस्थित दूतावासका अधिकारीहरू प्रसाईंलाई भारतीय सुरक्षा निकायले निगरानीमा राखेको बताउँछन् । दूतावासका एक अधिकारीले भने, ‘उनी भारत आएको जानकारी पाएपछि थप निगरानी बढाइएको रहेछ ।’
यसअघि गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि प्रसाईं भागेर पूर्वीनाका काँकडभिट्टा हुँदै भारत पुगेका थिए । त्यसबेला उनी राजधानी नयाँदिल्ली, प्रयागराज र लेखनउसमेत पुगेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार, राजसंस्थासँगै हिन्दुराष्ट्रको एजेन्डासमेत उठाएकाले भारतीय पक्षबाट सहयोग पाउने अपेक्षासहित प्रसाईं त्यसबेला भारत गएका थिए ।
सहयोग हुने अवस्था नदेखेपछि उनी आसाम पुगेर बसेका थिए । प्रसाईं त्यहाँ बसेको घर एक स्थानीय नेताको रहेको प्रहरी बताउँछ । त्यही बेला भएको अनुसन्धानले भारतको सत्तारूढ भारतीय जनता पार्टी (बीजेपी) को मातृसंस्था राष्ट्रिय स्वयंसेवक संघका प्रदेशस्तरीय नेताहरूसँग समेत उनको सम्बन्ध रहेको खुलेको थियो ।
काठमाडौंमा २५ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गरिएका बेला एक प्रदर्शनकारीले उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथको फोटो प्रदर्शन गरेका थिए । उनी हिन्दु धर्मको प्रतीक भएको उल्लेख गर्दै प्रसाईंले फोटो देखाउनु सामान्य भएको तर्क गरेका थिए । तर, पछि दिल्लीस्थित नेपाली राजदूतले आदित्यनाथलाई लखनउ पुगेर भेटेका थिए । त्यसबेला मुख्यमन्त्री आदित्यनाथले नेपालको राजपरिवारसँग पुरानो सम्बन्ध भए पनि नेपालमा भएका गतिविधिबारे आफ्नो कुनै ‘पोजिसन’ नभएको प्रस्टीकरण दिएका थिए ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समेत त्यसबेला सार्वजनिक कार्यक्रममा ‘आदित्यनाथले नेपाली जनताले जे चाह्यो त्यही हुन्छ, म राजा ल्याउने पक्षमा छैन भनेर आफैंले भन्नुभएको छ’ भनेका थिए ।
त्यसबेला प्रसाईंको गतिविधिलाई लिएर तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाले समेत भारतीय समकक्षी एस जयशंकर र भारतीय राजदूत नवीन श्रीवास्तवसँग चासो राखेकी थिइन् । पछि नेपाल प्रहरीले प्रसाईंलाई भारतको आन्तरिक गुप्तचरी निकाय इन्टेलिजेन्स ब्युरो (आईबी) को सहयोगमा पक्राउ गरेर ल्याइएको थियो ।
पछिल्लो पटक चाहिँ भारतीय टेलिभिजन एनडीटीभीले सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै प्रसाईंको गतिविधिसँग भारतलाई कुनै सरोकार नरहेको उल्लेख गरेको थियो । कूटनीतिक र सुरक्षा स्रोतलाई उद्धृत गर्दै समाचारमा वर्तमान सरकारसँग स्थिर सम्बन्ध कायम राख्न केन्द्रित भएका बेला भारतीय अधिकारीहरूले प्रसाईंको राजनीतिक सक्रियतालाई स्वागतयोग्य नठानेको भनिएको थियो ।
‘भारतीय अधिकारीहरूले दुर्गा प्रसाईंलाई भारतमा रहँदा राजनीतिक गतिविधि नगर्न र भारतीय समर्थन रहेको झूटा दाबी नगर्न चेतावनी दिएका छन्,’ सरकारी अधिकारीलाई उद्धृत गर्दै भनिएको थियो ।

