Wednesday, July 8

गृह मन्त्रालयको प्रकृति नै संवेदनशील हुने भएकाले कतिपय कामकारबाहीबारे बोल्न नमिल्ने :गृहमन्त्री अर्याल

नेपालअखबार, काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालयको प्रकृति नै संवेदनशील हुने भएकाले कतिपय कामकारबाहीबारे बोल्न नमिल्ने अवस्था रहेको स्पष्ट पारेका छन्। आफ्नो आधिकारिक फेसबुक पेजमा एक पोस्टमार्फत मन्त्री अर्यालले गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय भएको उल्लेख गरेका हुन्।

Advertisement

उनका अनुसार कतिपय विषयमा मन्त्रालयले ‘के गर्दैछौँ’ भनेर भन्नै मिल्दैन भने, ‘के गर्‍यौँ’ समेत भन्न नमिल्ने जटिल अवस्था आउने गर्छ। मन्त्री अर्यालले यस अवस्थामा चुपचाप बसेर आफ्नो शुद्ध चित्तले कर्म गरिरहनेबाहेक सरकारसँग अरू कुनै विकल्प नभएको बताएका छन्। उनले यस्तो संवेदनशीलतालाई बुझेर धैर्यता अपनाइदिन नागरिकहरूलाई आग्रह गरेका छन्।

Advertisement
Advertisement

मन्त्री अर्यालले वर्तमान सरकारको प्रमुख अभिभारा सुशासनको बाटो हिँड्नु र देशलाई निर्वाचनमार्फत निकाससम्म डोर्‍याउनु रहेको उल्लेख गरेका छन्। उनले सरकारले यो अभिभारालाई पूरा गर्ने प्रतिबद्धता जनाउँदै कार्यकालको अन्तिममा धैर्यताका निम्ति जनतालाई धन्यवाद दिने बताएका छन्।

Advertisement

पछिल्लो समय जेनजीको एक समूहले गृहमन्त्रीमाथि दबाब बढाउँदै गएको छ । विशेष गरेर सुदन गुरुङको समूहले गृहमन्त्रीलाई हटाउन चाहेको छ । केही दिनअघि गुरुङले गृहमन्त्री अर्याललाई हटाउने चेतावनी नै दिएका थिए ।