Sunday, May 31

झण्डै १० लाखको संख्यामा सलहको अर्को झुण्ड नेपाल भित्रियो

नेपाल अखबार, काठमाडाैं । झण्डै १० लाखको संख्यामा रहेको सलहको नयाँ झुण्ड नेपाल प्रवेश गरेको छ। आइतबार दाङहुँदै सलहको एउटा भुण्ड नेपाल प्रवेश गरेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ।
यसअघि दुई साता अघि पनि सलहको ठूलो झुण्ड नेपाल प्रवेश गरेको थियो। तर, वातावरण प्रतिकूल हुँदा यसअघि प्रवेश गरेको सलह केही भागेका थिए भने केही आफैँ मरेर सकिएका थिए।
आइतबार आएको सलहको नयाँ झुण्ड भारत उत्तर प्रदेशको सितापुर तथा बहराइच क्षेत्र हुँदै नेपाल प्रवेश गरेको हो। केन्द्रले यसअघि नै सलहको झुण्ड नेपाल प्रवेश गर्ने तयारीमा रहेको जानकारी गराएको थियो।
केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार आइतबार बिहान र दिउँसो सलहको झुण्ड दाङको गढवा गाउँपालिका र राप्ति नगरपालिका क्षेत्रको आकाशमा देखिएका छन्।
सलहका ती झुण्ड, प्यूठान अर्घाखाँची लगायतका जिल्लासम्म पुग्ने अनुमान गरिएको छ। सलहको यो झुण्ड १० देखि १२ लाखको संख्यामा रहेको अनुमान विज्ञको छ। सलहले बालीनाली खाएर नोक्सान गर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारीमा रहन पनि केन्द्रले अनुरोध गरेको छ।
सलहको थप झुण्डसमेत प्रवेश गर्ने संभावना रहेको केन्द्रले जनाएको छ।
‘हावाको बहाव दक्षिणबाट पूर्वोत्तर दिशातिर बगेकोले भारतको राजस्थानबाट अन्य झुण्ड पनि नेपाल प्रवेश गर्ने संभावना छ,’ सुवेदीले भने, ‘प्रदेश १, २ र ५ मा पर्ने तराईका    जिल्ला हुँदै अरु झुण्ड पनि नेपाल प्रवेश गर्ने सम्भावना छ।’
 

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *