Tuesday, December 9

मधेस सरकारमा सहभागी भयो राप्रपा, मन्त्रीलाई फिर्ता आउन लिङ्देनको निर्देशन

नेपालअखबार,काठमाडौँ । मधेस प्रदेश सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सहभागी भएको छ।

नेकपा एमाले संसदीय दल नेता सरोजकुमार यादवको नेतृत्वमा बनेको सरकारमा राप्रपाबाट कञ्चन विच्छा मन्त्री बनेकी छन्।

Advertisement

तर मधेस सरकारमा पार्टीका सांसदको सहभागिताप्रति राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

‘मधेस प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा सोमबार बिहान लेखेका छन्, ‘यो अनुशासनको गम्भीर उल्लंघन हो।’

उनले राप्रपाबाट मन्त्री भएकी सांसदलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिएका छन्। ‘अन्यथा विधानबमोजिम कारबाही हुने जानकारी गराउँछु,’ लिङ्देनले भनेका छन्।

राप्रपाका संघीय र प्रदेश सभाका सबै सांसदले गत भदौ २४ गते पदबाट सामूहिक राजीनामा दिएका थिए। सामूहिक राजीनामा दिएकी सांसद अहिले मन्त्री भएका छन्।

आइतबार अबेर राति प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।

उनलाई सिन्धुली र महोत्तरीको सिमानामा पर्ने एउटा होटलमा प्रदेश प्रमुख भण्डारीले सपथ ग्रहण गराएकी हुन्।

मुख्यमन्त्री बनेपछि यादवले तीन जना मन्त्रीसमेत नियुक्त गरेका छन्।

एमालेबाट लखन दास, समाजवादी पार्टीबाट विमला अन्सारी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कञ्चन विच्छा मन्त्री बनेका थिए।

यस्तो थियो राप्रपाको विज्ञप्ति:

546050367_10234551681867746_4006555497140626558_n-1762747296.jpg