
नेपालअखबार,काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको सङ्गठनात्मक पङ्क्ति लयमा फर्किएको बताएका छन् ।
काठमाडौँमा आइतबार जनसङ्गठन समन्वय संयन्त्रको आयोजनामा भएको पार्टीको बागमती प्रदेशका पदाधिकारी, उपत्यका विशेष, जनसङ्गठन, सम्पर्क समन्वय कमिटीसहितको विशेष बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले अन्य राजनीतिक दलहरू अलमल र दिशाविहीन अवस्थामा फसेको बेला एमाले मात्र जनताको बीचमा पुगेर वास्तविक जनभावना सुन्न सफल भएको बताए ।
ज्ञवालीले जनपरिचालन अभियानमार्फत वडा, पालिका र जिल्लास्तरका जनप्रदर्शन र सभामार्फत एमालेको निरन्तर जनसमर्थन मजबुत बन्दै गएको बताए । जनस्तरमा एमालेप्रति देखिएको उत्साहले पार्टी सङ्गठन थप ऊर्जावान बनेको उनले बताए ।
बैठकमा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक तथा स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई, सम्पर्क समन्वय कमिटी इञ्चार्ज लालबाबु पण्डित, उपत्यका विशेष समन्वय कमिटी इञ्चार्ज सुजिता शाक्य, भक्तपुर इञ्चार्ज महेश बस्नेत र काठमाडौँ इञ्चार्ज आनन्द पोखरेलले मंसिर ५ गते आयोजना गर्न लागिएको स्वयंसेवकहरूको राष्ट्रिय भेला र मंसिर ६ गते काठमाडौँमा आयोजना गर्न लागिएको विशेष प्रदर्शनको तयारी सम्बन्धी विस्तृत जानकारी गराए ।

