Monday, November 17

झोलुंगे पुल बनेपछि अन्त्य भयो पुस्तौंदेखिको समस्या

नेपालअखबार,भोजपुर। ज्यानको जोखिम मोलेर काठको फड्केबाट खकुवाखोला तर्दै आएका यहाँका स्थानीयलाई झोलुङ्गे पुल बनेपछि सहजता भएको छ।

Advertisement

षडानन्द नगरपालिका–७ र ११ लाई जोडने यो  खोलामा ८० मिटर लामो पुल निर्माण भएपछि स्थानीयको वर्षौँको समस्या अन्त्य भएको हो।

Advertisement

बर्खाको समयमा खोला ठूलो हुँदा तर्न नसकेर कतिपय समयमा खेतमा नै बास बस्नुपर्ने अवस्थामा पुल निर्माणले राहत मिलेको स्थानीयवासी चतुरमाया मगरले बताइन्।

विगतमा खेत आउँदा उर्लिँदो भेल तरेर जानुपर्ने समस्या रहेको उनको भनाइ छ।

अब भने जोखिम मोलेर काठको फड्केबाट खोला तर्नुपर्ने अवस्थाको अन्त्य भएको उनले बताइन्।

‘खकुवाखोलामा झोलुङ्गे पुल बनेपछि हाम्रो पुस्तौँदेखिको समस्या अन्त्य भएको छ,’ उनले भनिन्, ‘दैनिकजसो खेतीमा आउँदा यो खोला तर्नुपर्थ्यो। खोलापारि जान काठको फड्के थियो। त्यो फड्के पनि ठूलो खोला हुँदा बगाउथ्यो, पुल बनेपछि सहज छ।’

यो खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयको दैनिकी सहज बनेको स्थानीयवासी दीपबहादुर मगरले बताए।

मुख्य रूपमा बर्खाको समयमा आवतजावतमा धेरै समस्या हुने गरेको उनको भनाइ छ।

‘पुल बनेपछि हामीलाई सहज भएको छ,’ उनले भने, ‘यो पुलले दुईवटा वडाका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको छ।’

यहाँ ४८ लाख १२ हजार ८२५ लागतमा पुल निर्माण सम्पन्न भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष मनिकुमार तामाङले बताए।

स्थानीयको समस्यालाई ध्यानमा राखेर खकुवाखोलामा झोलुङ्गे पुल निर्माण गरिएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले बताए।

नगरपालिका क्षेत्रमा आवश्यक पर्ने  अन्य झोलुङ्गे पुलको तथ्यांक लिएर निर्माणको कामलाई योजनाबद्ध रूपमा अघि बढाएको उनले जानकारी दिए।