
नेपालअखबार,काठमाडौँ । जेन-जीले राखेका सबै माग पूरा गर्न नसकिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले स्पष्ट पारेका छन् । उनले जेन-जीहरूलाई आगामी निर्वाचनबाट जितेर सरकार बनाएर आफ्ना माग आफैं पूरा गर्न भनेका हुन् ।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा जेन–जी २.० ले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै मन्त्री पुनले कतिपय माग पूरा गर्न नसक्ने किसिमका रहेको बताएका थिए । आफैँ निर्वाचनमा भाग लिएर जितेर आई मागहरु पूरा गर्न मन्त्रीले जेन-जीहरूलाई भनेका हुन् ।
‘अब यो तिमीहरूको सबै माग पूरा गर्ने हो भने तिमीहरू आफैँ चुनाव लड्ने, सरकार बनाउने, यसपछि कुरा आफैँले गर्ने । यो भन्दा अर्को उपाय छैन,’ मन्त्री पुनले भनेका थिए, ‘यहाँ क्यामेरा तेर्साएर बस्ने होइन । यस्तो किसिमको माग मन्त्रालय आउँदै, मन्त्रीलाई माग राख्ने होइन, आफैँ गाउँ-गाउँमा जाने हो । तिमीहरूको माग मात्रै पूरा गरेर हुन्छ, मेरो पनि त माग पूरा गर्नुपर्ने हुन्छ ।’
जेन-जीहरू गाउँ गएर चुनावको तयारी गर्नुपर्ने मन्त्री पुनको भनाइ थियो । ‘अब जेन-जीका भाइबहिनीहरू काठमाडौं बस्न छोडेर सबै आफ्नो गाउँमा जाने, युवा नेताहरू ल्याउने र यस्ता किसिमका मागहरू पूरा गर्ने । केही मागहरू विचार गर्न सकिन्छ, सबै माग पूरा गर्न सकिँदैन,’ पुनले भने ।
जेन–जी २.० ले १६ वर्षको उमेरमा एसईई पास गरी सीटीईभीटीमा पढेर देश विदेशमा काम गरी जीविका चलाउन तथा देश विकासमा योगदान गर्न चाहाने विद्यार्थी र देशको भविष्यसँग जोडिएको प्राविधिक शिक्षाका समस्या एक हप्ताभित्र समाधान गर्न भन्दै मन्त्री पुनलाई ज्ञापनपत्र बुझाएका थिए ।


