Sunday, July 26

ट्रम्पले छलफल नै नगरी शान्ति योजना बनाए, जेलेन्स्कीले भने- इमानदारीपूर्वक सहभागी हुन्छु

नेपालअखबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनामा ‘रचनात्मक, इमानदारीपूर्वक र कार्यात्मक रूपमा’ संलग्न हुने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।

Advertisement

ट्रम्प सरकारले युक्रेनसँग सल्लाह नगरी रूससँग मात्रै परामर्श गरेर २८ बुँदे शान्ति योजना बनाएको छ।

Advertisement
Advertisement

सो योजना बारे छलफल गर्न युक्रेन पुगेका अमेरिकी सेना सचिव डेनियल ड्रिस्कोलसँग बिहिबार भेटेपछि जेलेन्स्कीको सो टिप्पणी गरेका हुन्।अमेरिकी र युक्रेनी टोलीहरूले युद्ध समाप्त गर्ने योजनाका बुँदाहरूमा काम सुरू गर्ने जेलेन्स्कीले बताए।

Advertisement

पश्चिमा मिडियाका अनुसार २८ बुँदे योजनामा मुख्यतः लामो समयदेखि रूसले राख्दै आएका मागहरू छन्।

युक्रेनले आफ्नो भूभाग रूसलाई सुम्पने, आफ्ना सेनाको आकार सीमित गर्ने र युद्धविराम पछि पश्चिमी शान्ति सेनाको लागि कुनै पनि भूमिका नहुने कुराहरू त्यसमा समावेश छन्।

युद्ध अन्त्यका लागि आफ्नो कब्जामा रहेको क्राइमिया र डोनबास क्षेत्रका युक्रेनी भूभाग मात्रै नभएर आफ्नो नियन्त्रणमा नभएका केही भागको पनि स्वामित्व दिनुपर्ने पुटिनले माग गर्दै आएका छन्।

झण्डै एक दशकदेखि लगातार आक्रमण गरे पनि पुटिनले डोनबास क्षेत्र पूर्ण रूपमा कब्जा गर्न सकेको छैन। लुहान्स्क र दोनेत्स्कलाई संयुक्त रूपमा डोनबास क्षेत्र भन्ने गरिन्छ।

लुहान्स्कको लगभग सबैजसो भाग रूसले कब्जा गरे पनि दोनेत्स्कको १० प्रतिशत भन्दा बढी भाग युक्रेनकै नियन्त्रणमा छ।

त्यहाँ युक्रेनले वर्षौंदेखि बलियो रक्षात्मक संरचना बनाएकाले रूसले युद्ध गरेर लिन निकै मुश्किल हुने मानिन्छ। सो भूभाग रूसलाई दिए रूसले त्यहाँबाट अगाडि बढ्न फेरि आक्रमण गरे रोक्न नसकिने भएकाले युक्रेनले सो शर्त अस्वीकार गर्दै आएका छ।

जेलेन्स्कीले ती शर्त ठाडै अस्वीकार गरे ट्रम्प रिसाउलान् भनेर सो योजनामा इमानदारीपूर्वक संलग्न हुने भनेको मानिन्छ। उनले त्यसो भने पनि युरोपेली देशहरूले भने सो योजनाको विरोध गरेका छन्।

ब्रसेल्समा बिहिबार भेला भएको युरोपेली संघका विदेश मन्त्रीहरूको छलफलमा अमेरिकी योजनाको बारेमा विस्तृत टिप्पणी गरेनन्। तर उनीहरूले युक्रेनले धेरै कुरा छोड्नु पर्ने शर्तहरू युरोपले स्वीकार नगर्ने संकेत दिए भनेर समाचार संस्था रोयटर्सले जनाएको छ।

‘युक्रेनीहरू शान्ति चाहन्छन्। एउटा न्यायपूर्ण शान्ति जसले सबैको सार्वभौमसत्ताको सम्मान गर्छ, एउटा टिकाऊ शान्ति जसलाई भविष्यको आक्रमणले भाँड्न सक्दैन,’ फ्रान्सका विदेश मन्त्री ज्याँ-नोएल बारोटले भने, ‘तर आत्मसमर्पण शान्ति हुन सक्दैन।’

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)