
नेपालअखबार, काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीले पार्टी निकट जनवर्गीय सङ्गठन तथा विभाग छिट्टै व्यवस्थापन गर्ने भएको छ ।
विभिन्न वामपन्थी दल तथा समूह एकीकृत भएर बनेको पार्टीले सबै दलको समन्वयमा भ्रातृ सङ्गठन पुनर्गठन, समायोजन गरिने नेता प्रकाश ज्वालाले जानकारी दिए ।
जनवर्गीय सङ्गठन पुनर्गठन तथा समायोजन गर्नका लागि पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालबिच छलफल भएको बताउँदै उनले सबै पक्षलाई समेटेर विगतका नेताहरुको कार्य क्षमता मूल्याङ्कन गरी जिम्मेवारी दिइने समझदारी भएको जानकारी दिए ।
विभागीय इन्चार्जका साथै जनवर्गीय सङ्गठनको नेतृत्व व्यवस्थापनपछि निर्वाचनको तयारी गरिने ज्वालाले बताए ।
पार्टीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, नेकपा (माओवादी समाजवादी), गोपाल किरातीको नेतृत्वमा रहेको देशभक्त समाजवादी मोर्चालगायत वाम समूह समावेश छन् ।
पार्टीले यही महिनाभित्र सबै प्रदेश तथा केही जिल्लामा एकतासभा गर्ने कार्यसूची सार्वजनिक गरिसकेकाे छ ।

