
नेपालअखबार, ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको स्वास्थ्यअवस्था निकै गम्भीर भएको र उनलाई भेन्टिलेटरमा राखिएको खबर बाहिरिएको छ ।
उनको पार्टी ‘बंगलादेश नेसनलिस्ट पार्टी’ (बीएनपी)का नेताहरूले बताएको भन्दै बीबीसी हिन्दीले यसबारे समाचार छापेको छ । ८० वर्षीया खालिदा जियालाई नोभेम्बर २३ मा छातीमा संक्रमण भएर एक निजी अस्पतालमा भर्ना गरिएको थियो । संक्रमणले उनको मुटु र फोक्सोलाई समेत असर गरेको थियो ।
चार दिनपछि उनको अवस्था झनै बिग्रियो र उनलाई कोरोनरी केयर युनिटमा सारियो । समाचार पोर्टल टीबीएसन्यूजडटनेटका अनुसार बीएनपीका उपाध्यक्ष अहमद आजम खानले खालिदा जियाको अवस्था धेरै गम्भीर रहेको र उनलाई भेन्टिलेटरमा राखिएको बताएका छन् छ । ‘यसलाई धेरै गम्भीर अवस्था पनि भन्न सकिन्छ । यस समयमा, सम्पूर्ण राष्ट्रसँग प्रार्थना माग्नबाहेक अरू केही भन्न सकिँदैन,’ उनले भनेका छन् ।

