
नेपालअखबार, काठमाडौँ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा (पीएस) गुरुङले आगामी ११ औँ महाधिवेशनमा महासचिव पदमा दाबी गर्ने भएका छन् ।
सोमबार एमाले निकट प्रेस चौतारीले गरेको अन्तरक्रिया कार्यक्रममा गुरुङलाई आगामी महाधिवेशनमा कुन पदमा दाबी गर्नुहुन्छ भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा गुरुङले महासचिव पदमा दाबी गर्ने बताएका हुन् ।
‘महासचिवमै दाबी गरेको छु मैले’, हाँसेर छोटो जवाफ दिँदै गुरुङले भने, ‘दाबी गर्न त पाइन्छ नि !’ एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेले लड्ने बताइसकेका छन् ।
महाधिवेशनमा गुरुङलाई पोखरेल समूहले आफ्नो प्यानलमा ल्याउने प्रयास गरिरहेका बेला गुरुङले भने ओली प्यानलमै रहने सङ्केत गरेका छन् । एमालेमा ओली समूहबाटै शंकर पोखरेल, प्रदीप ज्ञवाली र गुरुङ गरी तीन जना महासचिवका आकाङ्क्षी देखिएका छन् ।

