Saturday, July 25

पुटिनले ट्रम्पका दूतसँग गरे ५ घन्टा छलफल, भएन सहमति

नेपालअखबार,काठमाडौँ ।  रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी अधिकारीहरूसँग पाँच घन्टासम्म छलफल गरेका छन्।

Advertisement

युक्रेन युद्ध अन्त्यका लागि सम्भावित शान्ति सम्झौताबारे सहमति जुटाउन भनेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना मध्यपूर्व हेर्ने विशेष दूत स्टिभ विटकोफ र ज्वाँइ ज्यारेड कुश्नरलाई मस्को पठाएका थिए।

Advertisement
Advertisement

मंगलबार क्रेमलिनमै पुटिनले उनीहरूसँग ५ घन्टासम्म कुराकानी गरेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

Advertisement

यद्यपि शान्ति सम्झौताबारे सहमति भने हुन नसकेको पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभले बताएका छन्।

‘सम्झौताका बुँदाहरूमा अहिलेसम्म समझदारी बनेको छैन। त्यसमा धेरै काम गर्न बाँकी छ,’ उशाकोभले क्रेमलिनमा पत्रकारहरूसँग भने।

उनले सम्झौतामा भएका केही प्रस्तावहरूबारे पुटिन सकारात्मक नरहेको पनि बताएका छन्।

यद्यपि वार्ता रचनात्मक भएको र अमेरिका–रुसबीच आर्थिक सहकार्यका ठूलो सम्भावना रहेको उनको दाबी थियो। पुटिन र ट्रम्पबीच तत्काल भेटवार्ता तय नभएको पनि उनले स्पष्ट पारे।

भूगोलको विषय, क्षेत्रीय समस्या लगायतका केही विषयमा पुटिनले गम्भीर असहमति जनाएको भनेर रोयटर्सले लेखेको छ।

विशेषगरी डोनबास क्षेत्रमाथि रूसी दाबी मान्य हुनुपर्ने मस्कोको अडान छ। यी क्षेत्रमा रूसले तीव्र आक्रमण गरे पनि पूर्ण रूपमा कब्जा गर्न सकेको छैन।

‘केही अमेरिकी मस्यौदा प्रस्तावहरू आंशिक रूपमा स्वीकार्य देखिए पनि सबै शब्दावली हामीलाई उपयुक्त छैनन्,’ उशाकोभले भनेका छन्।

दुई देशबीच युद्धविराम गरी शान्ति स्थापनाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरूमा २९ बुँदे प्रस्ताव तयार पारेका थिए।

त्यसमा रूसले भनेजस्तै हाल कायम रहेको नियन्त्रण रेखालाई आधार मानेर सीमाना निर्धारण गरिनेदेखि नेटो सेनामा युक्रेनको आबद्धता नहुने र युक्रेनले आफ्नो सैनिकको आकार घटाउने प्रस्ताव उल्लेख थियो।

उक्त प्रस्तावबारे युरोपेली नेताहरूले गम्भीर असहमति जनाएपछि अमेरिका र युक्रेनले स्वीटजरल्याण्डको जेनेभामा छलफल गरी शान्ति सम्झौताको अर्को मस्यौदा तयार पारेको थियो।

उक्त मस्यौदामा भने युक्रेन र युरोपका माग समेटिएको र रूसले भनेजस्तो नियन्त्रण रेखा, युक्रेनी सेनाको आकार घटाउने जस्ता प्रावधानहरू हटाइएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति स्थापनाका लागि स्थिति सहज नरहेको तर आफू निरन्तर प्रयत्न गरिरहेको बताएका छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौता निष्पक्ष र खुला हुनुपर्छ भनेर लगातार भन्दै आइरहेका छन्।

‘सबै कुरा निष्पक्ष र खुला हुनुपर्छ, युक्रेनको पछाडि कुनै खेल हुनु हुँदैन,’ उनले भनेका छन्।

वार्ताअघि नै पुटिनले युरोपसँग युद्ध नगर्न चाहेको तर यदि युरोपले युद्ध सुरु गरे त्यसको परिणाम छिटो र कठोर हुने चेतावनी दिएका थिए।

उनले काला सागरमा रहेका रुसी ट्याङ्करहरूमा ड्रोन आक्रमण भए युक्रेनको समुद्री पहुँच नै काट्ने धम्कीसमेत दिएका छन्।

युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहाले पुटिनका यी अभिव्यक्तिले उनी शान्ति चाहँदैनन् भन्ने कुरा पुष्टि हुने टिप्पणी गरेका छन्।