Thursday, January 22

समाजवाद स्थापनाका लागि सबै कम्युनिस्टहरू एक हुनुपर्छ–झलनाथ खनाल

नेपालअखबार, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले समाजवाद स्थापनाका लागि सबै कम्युनिस्ट एकैठाउँमा आउनुपर्ने बताएका छन् ।

२०६२/०६३ मा भएको जनआन्दोलन पुँजीवादी आन्दोलन भएको र त्यो आन्दोलनले मजदुर र श्रमिकको अधिकार सुनिश्चत गर्न नसकेको उनले बताए ।

Advertisement

जनकपुरमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै देशमा जति आन्दोलन भए पनि उत्पीडित जनसमुदायमाथि विभेद नहटेको उनले बताए । पुँजीवादी लोकतन्त्र विश्वमै थोत्रो भइसकेकाले नेकपा समाजवादी लोकतन्त्रका लागि अगाडि बढिसकेको उनको भनाइ थियो ।

त्यसका लागि देशका सम्पूर्ण कम्युनिस्ट पार्टीलाई एकता गर्न आफूहरू लागेको उनले बताए । ‘नेपाली विशेषताको समाजवाद स्थापना गर्न पुँजीपतिहरूसँग साँठगाठ गरेर हुँदैन, आमजनतासँग मिलेर मात्र सम्भव छ,’ उनले भने, ‘यो धर्तीको स्वर्ग हो, समान्ती शासकहरूले यसलाई गरिबहरूको देश बनाए ।’

उनले देशमा सबै कम्युनिस्ट पार्टी एक नभएसम्म यो देश स्वर्ग बन्न नसक्ने पनि दाबी गरे ।