Thursday, July 9

पुराना दल सकिए भनेर नसोच्नू: अध्यक्ष ओली

नेपालअखबार, काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुराना राजनीतिक दलहरू सकिए वा सकिन्छन् भन्ने धारणा नबनाउन आग्रह गरेका छन्।

Advertisement

शनिबार नेकपा एमालेको ११औँ महाधिवेशनका लागि नवयुग ई-बुलेटिन शुभारम्भ गर्दै ओलीले आगो लगाएरै सरकार बनाउने र चल्ने सोच राख्नेहरूलाई चेतावनी दिए। उनले प्रश्न गरे, “फेरि पनि आगो लगाएर सरकार बनाउने? फेरि पनि आगोकै भरमा सरकार बन्छ? पार्टीहरूकै सरकार बन्छ।”

Advertisement
Advertisement

ओलीले यस पटकको महाधिवेशन एमालेविरुद्धको चौतर्फी घेराबन्दी तोड्ने र एमाले फेरि अघि बढ्ने बताए। उनले एमालेलाई द्वापर युगका बालक अभिमन्युलाई जस्तो एकैसाथ घेरेर चक्रब्युहमा पारौँला भन्ने नसोच्न आग्रह गरे। “एमाले अभिमन्युजस्तो कलिलो होइन, एमालेले त्यस्ता चक्रब्युहलाई कच्याककुचुक बनाइदिन्छ,” ओलीले भने।

Advertisement

उनले फागुन २१ मा चुनाव नहुने बताउँदै अहिले एमाले सरकारको चक्करमा पनि नरहेको स्पष्ट पारे। ओलीले एमाले चुनावको प्रतीक्षामा रहेको र अब हुने चुनावपछि एमालेकै सरकार बन्ने दाबी गरे। “अरू पुराना दल के गर्छन् थाहा छैन, एमाले त आयो आयो,” उनले भने।

एमालेको ११औँ महाधिवेशनस्थल भक्तपुरको सल्लाघारीमा मानिसहरू नअट्ने बताउँदै ओलीले जे जस्तो हुन्छ त्यसै गरी व्यवस्थापन गर्नुपर्ने बताए। उनले एमालेको महाधिवेशनको सफलता लोकतन्त्रको सफलता भएकोले महाधिवेशनलाई भव्य बनाउनुपर्नेमा जोड दिए। उनले कार्यक्रम स्थलमा आउने बाटो र ठाउँ नपुगेर धादिङ, नुवाकोट, बनेपा वा दक्षिणकाली तिर छुट्टै कार्यक्रम गरेर फर्कनु पर्ने स्थिति पनि आउन सक्ने बताए।