Saturday, April 18

जेनजी आन्दोलनका घटना प्राथमिकताका साथ छानबिन हुँदैछन् : प्रधानमन्त्री कार्की

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घटनालाई सरकारले प्राथमिकताका साथ छानबिन गरिरहेको बताएकी छन् ।

आइतबार सिंहदबारमा पूर्वराष्ट्रपति   विद्यादेवी भण्डारीसँगको भेटमाप्रधानमन्त्री कार्कीले सरकारले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी हुन् ।

Advertisement

पूर्व राष्ट्रपति भण्डारीसँगको भेटमा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण आफूले जिम्मेवारी सम्हाल्नु परेको कुरा राखेकी थिइन् ।

पूर्वराष्ट्रपति भण्डारीले भदौ २३ र २४ गते भएका घटनाका दोषी पत्ता लगाई सरकारले कारबाहीको दायरामा ल्याउन सक्ने विश्वास व्यक्त गरेकी थिइन् ।

यस्तै जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले पूर्वराष्ट्रपति भण्डारीको निजी निवासमा समेत आगजनी गरेको घटनाप्रति प्रधानमन्त्री कार्कीले दु:ख व्यक्त गरिन् ।

प्रधानमन्त्री कार्कीले आफू नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण र आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनलाई बराबरी प्राथमिकता दिएर काम गरिरहेको बताइन् ।

भेटका क्रममा प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी बीच केहीबेर भलाकुसारीका साथै समसामयिक राजनीतिक विषयमा समेत कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीले पूर्वराष्ट्रपति भण्डारीसमक्ष निर्वाचनको वातावरण निर्माणका लागि आफ्नो ठाउँबाट भूमिका खेलिदिन पनि आग्रह गरेकी थिइन् ।

पूर्वराष्ट्रपति भण्डारीले पनि अहिलेको परिस्थितिको लोकतान्त्रिक निकास निर्वाचनभन्दा अर्को विकल्प नरहेकाले सबै पक्षले निर्वाचनलाई अर्जुनदृष्टि बनाएर अघि बढ्नुपर्ने धारणा राखिन् ।

पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न सक्ने विश्वास व्यक्त गरिन् ।