Saturday, April 18

रूद्रकली र खगेन्द्रप्रसाद कतारका लागि हिँडे

चितवन । कतार लैजान लागिएका चितवन राष्ट्रिय निकुञ्जका दुई हात्ती रुद्रकली र खगेन्द्रप्रसादलाई सोमबार विदाइ गरिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तसहित होटल व्यवसायीहरूले दुई हात्तीलाई सयपत्री फूलको माला लगाएर सौराहाबाट विदाइ गरेका हुन् ।

नेपाल सरकारका तर्फबाट कतारलाई उपहारस्वरूप ६ वर्षको भाले हात्ती खगेन्द्रप्रसाद र ७ वर्षकै पोथी हात्ती रुद्रकली पठाउन लागिएको हो ।

Advertisement

२०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने बाचा गरेको थियो ।

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहा कार्यालयबाट रत्ननगरको बेल्सी पुलसम्म हिँडाएर ल्याएर हात्तीलाई खोरसहित ट्रकमा राखेर रुपन्देहीको भैरहवा विमानस्थल लगिनेछ । हात्तीलाई भैरहवामा भोलि एक दिन राखिनेछ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार अन्य विभिन्न जीव जनावरहरू विभिन्न देशलाई उपहार दिने गरिएको भए पनि हात्ती नै उपहारका रूपमा पठाउन लागिएको यो पहिलो पटक हो । भारत, बर्मा, थाइल्यान्डबाट हात्ती ल्याउने गरेको नेपालले पहिलो पटक विदेशी राष्ट्रलाई हात्ती दिन लागेको हो ।

कतार पठाउन लागिएका दुवै हात्ती चितवन राष्ट्रिय निकुञ्जमा जन्मिएका हुन् । त्यहीँ नै तालिम दिइएका यी हात्ती स्वस्थ छन् ।

२०७६ माघमा खगेन्द्रमली पोस्टमा कोशीकलीबाट जन्मिएको खगेन्द्रप्रसाद हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसरमा हुर्किएको हो। खगेन्द्रमली पोस्टमा जन्मिएकोले उसको नाम पनि खगेन्द्रप्रसाद नै राखिएको हो ।

खगेन्द्रप्रसादकी आमा कोशीकलीलाई प्रशिक्षक हात्तीसमेत भन्ने गरिन्छ । छावाहरूलाई तालिम दिन कोशीकलीलाई प्रयोग गर्ने गरिन्छ । हात्ती प्रजनन तथा तालिम केन्द्रमा घुम्न पुग्ने पर्यटकहरूलाई फूलको माला लगाएर आर्शिवाद दिने काम खगेन्द्रप्रसादले गर्दै आएको थियो ।

हात्ती प्रजनन केन्द्रमा २०७५ सालमा पूजाकलीको कोखबाट जन्मिएकी रुद्रकली जन्मिएको हो । पूजाकलीको रुद्रकली जम्मा ३ महिनाको हुँदा नै मृत्यु भएको थियो । माउको मृत्यु भएपछि रुद्रकलीलाई माउतेहरूले रेखदेख गरेर हुर्काएका थिए । यी दुवै हात्तीको बाबु जंगली हात्ती ‘रोनाल्डो’ रहेको निकुञ्जले पुष्टि गरेको छ।

२०४४ सालमा भारतले उपहारस्वरूप दिएका १६ हात्तीलाई राखेर सौराहामा हात्ती प्रजनन केन्द्र खोलिएको थियो । भारतले हात्ती दिएपछि नेपालले भारतलाई त्यतिबेला ४ वटा एकसिंगे गैंडा दिएको थियो।

पुस २ गते उड्नेछन् कतार

चितवन राष्ट्रिय निकुञ्जका अनुसार आज भैरहवाका लागि हिँडेका हात्तीलाई पुस २ गते गौत्तमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार पठाइनेछ । कतारबाट आउने चार्टर्ड विमानमा खोरसहित हात्तीहरूलाई चढाएर कतार पठाउने कार्यक्रम रहेको निकुञ्जका प्रमुख डा. पन्तले जानकारी दिए ।

हात्तीहरुसँगै चितवनका एक जना पशु प्राविधिक, रूद्रकलीका माउते बुद्धिलाल श्रेष्ठ तथा खगेन्द्रप्रसादका माउते पाचुखा थारु पनि कतार जानेछन् । केही समय हात्तीहरूको रेखदेख गर्नेदेखि त्यहाँका कर्मचारीहरूलाई हात्तीको स्याहारसुसार गर्न सिकाएर मात्रै उनीहरु फर्किने छन् ।

‘हात्तीहरू लामो दूरी पार गरेर नयाँ ठाउँमा जाँदा उनीहरूलाई अभ्यस्त हुन चिनजानेको माउते हुँदा राम्रो हुने ठानेर पठाउन लागिएको हो,’ निकुञ्जका प्रमुख डा. पन्तले भने, ‘१ महिनासम्म पनि समय पुगेन वा हात्तीको टेक केयर गर्नसक्ने अवस्था भएन भने थप समय मिलाएर पनि माउतेहरू बस्छन् ।’

यसअघि नै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागबाट विज्ञ टोली कतार पुगेर हात्ती राख्ने स्थान एवं त्यहाँको अवस्थाका बारेमा जानकारी लिएर फर्किएको थियो ।