
नेपालअखबार,काठमाडौँ । जेनजी आन्दोलनका प्रतिनिधि लेनिन विष्टले वर्तमान सरकारका गतिविधिहरू आन्दोलनको भावना र यसले उठाएका मुद्दाको पक्षमा नरहेको आरोप लगाएका छन्।
बिहीबार काठमाडौँमा आयोजित ‘जेनजी आन्दोलनको एक सय दिन: उपलब्धि र भावी रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारको कार्यशैली क्रान्तिकारी हुन नसकेको टिप्पणी गरे। विष्टले जेनजी आन्दोलनभित्र ३० देखि ४० वटा विभिन्न समूहहरू सक्रिय रहेको जानकारी दिँदै सबैलाई एउटै छातामुनि समेट्न नसकिएको यथार्थ समेत स्वीकार गरे।
आन्दोलनकारीहरूलाई ‘सडक पक्ष’ र ‘सरकार पक्ष’ भनेर वर्गीकरण गर्ने गरिएको चर्चा गर्दै उनले सडकमा रहेका युवा पुस्ताले अझै न्याय पाउन नसकेको गुनासो गरे। मन्त्रिपरिषद् गठन, विभिन्न नियुक्ति प्रक्रिया र सरकारका हालैका क्रियाकलापहरूले आन्दोलनको मर्मलाई सम्बोधन गर्न नसकेको उनको दाबी छ। विष्टले अहिलेको जटिल राजनीतिक परिस्थितिको निकासका लागि विभिन्न विकल्पहरूमध्ये निर्वाचन नै सबैभन्दा उपयुक्त र लोकतान्त्रिक बाटो भएको धारणा राखे।

