Sunday, April 26

रेलको ठक्करबाट ७ वटा हात्तीको घटनास्थलमै मृत्यु

नेपालअखबार, काठमाडौं ।  उत्तरपूर्वी भारतमा एउटा यात्रुवाहक रेल हात्तीको झुण्डमा ठोक्किएर दुर्घटना हुदाँ सात वटा हात्तीको घटनास्थलमै मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

भारतमा लगभग २२ हजार जंगली हात्तीमध्ये ४ हजार भन्दा बढी रहेको आसम राज्यमा शनिबार भएको उक्त दुर्घटनामा कुनै यात्रु घाइते नभएको बताइएको छ।

Advertisement

असमका  वरिष्ठ प्रहरी अधिकारी राकेश रेड्डीलाई उदृध गर्दै एएफपीले सात वटा हात्तीहरुको घटना स्थलमै मृत्यु भएको र एउटा हात्ती घाइते भएको जनाएको छ।

मिजोरम राज्यबाट नयाँ दिल्लीतर्फ गइरहेको उक्त रेलको पाँचवटा डिब्बा दुर्घटना हुँदा लिगबाट खसेको बताइएको छ।

अधिकारीहरूले तोकिएको हात्ती कोरिडोरहरूमा गति नियन्त्रण प्रणली लागू गरेको भए पनि  पछिल्लो दुर्घटना यी क्षेत्रहरू बाहिर भएको भारतीय रेलवेका प्रवक्ता कपिन्जाल किशोर शर्माले बताए।

रेल चालकले हात्तीको झुण्ड देखेर आपतकालीन ब्रेक लगाए ता पनि हात्तीहरु रेलमा आएर ठोक्किँदा दुर्घटना भएको उनले बताए।    वन विनाश र तिनीहरूको बासस्थान नजिकको निर्माण गतिविधिले हात्तीहरूलाई खानाका लागि टाढा– टाढा जान बाध्य पारी मानिसहरूसँगको द्वन्द्वमा आएको जनाइएको छ।

संसदीय तथ्याङ्क अनुसार सन् २०२३– २०२४ मा भारतमा हात्तीको आक्रमणबाट ६२९ जनाको मृत्यु भएको थियो।