Saturday, August 22

राष्ट्रिय सभाको एक सिटका लागि कांग्रेस कोशीबाट मात्रै १२० भन्दा बढीको नाम सिफारिस

नेपालअखबार, काठमाडौं।  राष्ट्रिय सभाको एक सिटका लागि नेपाली कांग्रेस कोशी प्रदेश समितिले १२० जनाभन्दा बढी उम्मेदवारको नाम केन्द्रलाई सिफारिस गरेको छ।

Advertisement

‘खुलाबाट १०८ जना, महिलाबाट ९ जना र दलितबाट ७ जना जतिको नाम हामीले केन्द्रलाई सिफारिस गरेर पठाएका छौं,’ कांग्रेस कोशीका सभापति उद्धव थापाले भने, ‘जिल्लाहरूबाट सिफारिस भएर आएका नाम सबै पठाएका छौं।’

Advertisement
Advertisement

केन्द्रीय समितिले राष्ट्रिय सभा तथा प्रतिनिधि सभाका लागि प्रदेशबाट सिफारिस भएका नामहरू गोप्य राख्न भनेकाले अहिले नै नामहरू भन्न नसक्ने उनले बताए।

Advertisement

‘राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैको नाम सिफारिस गरेर पठाएका छौं, नाम चाहिँ अहिले कसैको पनि भन्न मिल्दैन,’ थापाले भने।

कांग्रेस प्रदेश समितिका अर्का एक पदाधिकारीका अनुसार राष्ट्रियसभाको उम्मेदवारका लागि धनकुटाका सुनिलबहादुर थापा, झापाका सुधीरकुमार शिवाकोटी सहित १२० भन्दा बढीको नाम सिफारिस भएको जानकारी दिए।

धनकुटाका थापाले राष्ट्रिय सभाको उम्मेदवार बन्नकै लागि राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकार पदबाट राजीनामा दिइसकेका छन्। कांग्रेस केन्द्रले उनलाई राष्ट्रिय सभामा उम्मेदवार बनाउने तयारी गरेपछि उनको राजीनामा आएको थियो।

यद्यपि प्रदेशमा भने आकांक्षीहरूको संख्या धेरै भएको छ। धेरै जनाको नाम जिल्लाबाट सिफारिस भएर आएको र प्रदेशले ती नामहरूमा काँटछाँट नगरी केन्द्रमा पठाएको नेताहरू बताउँछन्।

कांग्रेस कोशी प्रदेश समितिले तेह्रथुमबाट प्रतिनिधि सभा उम्मेदवारको सूचीमा सीता गुरूङको नाम थपेको छ। तेह्रथुमबाट महामन्त्री गगन थापाको एकल नाम सिफारिस भएको थियो।

प्रदेशले भने निवर्तमान सांसद गुरूङको नाम थपेर पठाएको हो।

प्रतिनिधि सभाको आगामी निर्वाचनका लागि महामन्त्री  थापाको एकल नाम सिफारिस भएपछि कांग्रेस तेह्रथुममा असन्तोष सुरू भएको थियो।

एउटा मात्रै निर्वाचन क्षेत्र भएको तेह्रथुमबाट २०७९ को निर्वाचनमा कांग्रेसकै सीता गुरूङ निर्वाचित भएकी थिइन्।

यसपटक जिल्ला कार्यसमितिले सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गर्दा गुरूङको नाम समेटेको थिएन।

तेह्रथुम कांग्रेसका नेताहरूले दिएको जानकारी अनुसार यसपटक जिल्लाबाट उम्मेदवारको नाम सिफारिस हुँदा संस्थापन पक्षले यसअघि चलाएको अनुशासनको कारबाहीले मुख्य रूपमा काम गरेको थियो।

तेह्रथुम कांग्रेसका  नेता एवम् संविधान सभा सदस्य तुलसी सुब्बालाई कांग्रेस अनुशासन समितिले गएको असारमा कारबाही गरेको थियो।

शेखर कोइराला निकट सुब्बालाई कारबाही गर्नुको कारण निवर्तमान सांसद गुरूङले दिएको उजुरी थियो।

सुब्बाले आफूलाई निर्वाचन हराउन खोजेको आरोप लगाउँदै गुरूङले अनुशासन समितिमा चुनाव लगत्तै निवेदन दिएकी थिइन्।

अनुशासन समितिले संस्थापन इतर पक्षकालाई छानीछानी कारबाही गरेको भन्दै कोइराला पक्षले आपत्ति जनाएको थियो।

तेह्रथुम कांग्रेसका सभापति अर्जुनबहादुर तुम्बाहाम्फेसहितका नेताहरू गुरूङको विपक्षमा उभिएपछि उनको नाम सिफारिसमा परेको थिएन।

कोशीमा महिला १, दलित १ र अन्य १ गरी तीन सिटमा राष्ट्रियसभा निर्वाचन हुँदैछ।

कांग्रेसबाट राष्ट्रिय सभाका लागि प्रदेशबाट सिफारिसमा पर्नेहरूमध्ये कांग्रेस नेता मीनबहादुर विश्वकर्मा पनि एक छन्।

उनलाई दलित क्लस्टरका लागि सिफारिस गरिएको कांग्रेस कोशीका एक नेताले जानकारी दिएका छन्।