Saturday, February 21

पुस १५ सम्म बुटवलका विद्यालयमा सार्वजनिक बिदा

नेपालअखबार,काठमाडौँ । बुटवलका विद्यालयहरू भोलिदेखि पुस १५ गतेसम्म बिदा हुने भएका छन्।

बुधबार बिहानैदेखि हुस्सुसँगै अत्यन्त चिसो बढेपछि बुटवल उपमहानगरपालिकाले विद्यालयहरूमा बिदा दिने निर्णय गरेको हो।

Advertisement

उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुधबार सूचना जारी गर्दै केही दिनदेखि सुरू भएको बाक्लो हुस्सु र बुधबारदेखि शितलहर पर्न थालेपछि अत्यधिक चिसो बढेकोले उपमहानगरपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा जाडो बिदा दिने निर्णय गरिएको जनाएका हुन्।

उपमहानगरपालिकाले वार्षिक बिदाबाट कट्टी हुने गरी पुस ११, १३ र १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ।

भोलि १० गते क्रिसमसको अवसरमा सरकारले यसअघि नै सार्वजनिक बिदा घोषणा गरिसकेको छ भने १२ गते शनिबार तथा १५ गते तमु ल्होसार परेकोले सार्वजनिक बिदा परेको छ।

यही बीचमा चिसो बढेपछि उपमहानगरपालिकाले पनि तीन दिन बिदा दिने निर्णय गरेको हो।

बुटवल लगायत आसपासको क्षेत्रमा बुधबारदेखि बाक्लो हुस्सुसँगै शितलहर पर्न सुरू भएपछि अत्यधिक चिसो बढेको छ।

पुस महिना लागेदेखि नै साँझ बिहान हुस्सु लाग्न थाले पनि शितलहर नपर्दा दिउँसोको समयमा चिसो त्यति बढेको थिएन। बुधबारदेखि नै हुस्सुसँगै शितलहर सुरू भएपछि चिसो ह्वात्तै बढेको हो।