Monday, August 24

वीरगञ्जमा १८ गतेसम्म शैक्षिक संस्था बन्द

नेपालअखबार, वीरगञ्ज । शितलहर नरोकिएपछि वीरगञ्ज महानगरपालिकाले विद्यालयमा बिदा थप गर्ने निर्णय गरेको छ। अत्यधिक चिसो र शितलहर कायम रहेकोले पुस १६ गतेदेखि १८ गते शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

Advertisement

बढ्दो शितलहरलाई ध्यानमा राखेर वीरगञ्ज महानगरपालिका अन्तर्गतका मन्टेश्वरी र कोचिङहरू समेत थप ३ दिन बन्द गर्ने निर्णय गरिएको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिए।

Advertisement
Advertisement

उनका अनुसार वर्षे सट्टे बिदाबाट कट्टा हुनेगरी जाडो बिदा गरिएको हो। पुस २० गतेबाट भने शैक्षिक संस्था नियमित रूपमा सञ्चालनमा आउने उनको भनाइ छ।

Advertisement

यसअघि महानगरपालिकाले पुस ७ गतेदेखि १४ गतेसम्म सामुदायिक र संस्थागत विद्यालयहरूमा पठनपाठन स्थगित गरेको थियो।

आज पुस १५ गते तमु ल्होसारको सार्वजनिक बिदा नै थियो भने  शैक्षिक प्रशासन महाशाखाले मौसम सुधार आउने आशा गर्दै पुस १६ गतेदेखि शैक्षिक संस्था खोल्ने जनाएको थियो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई क्षेत्रका अधिकांश स्थानमा हुस्सु तथा कुहिरोको प्रभाव कायमै छ। एक किलोमिटर भन्दा कम पारदर्शिता हुँदा कुहिरो र एक देखि पाँच किलोमिटरसम्म पारदर्शिता हुँदा हुस्सु भनिन्छ। महाशाखाले दिउँसो २ः४५ बजे सार्वजनिक गरेको विवरण अनुसार मधेस प्रदेशको सिमरामा आजको न्यूनतम तापक्रम ११ डिग्री सेन्टिग्रेड र अधिकतम तापक्रम १२.४ डिग्री सेन्टिग्रेड छ भने जनकपुरको न्यूनतम र अधिकतम तापक्रम क्रमशः १०.८ र १४.२ डिग्री सेन्टिग्रेड रहेको छ।

‘सबै प्रदेशका तराईका धेरै स्थानहरूमा अझै हुस्सु लागिरहेको छ र उल्लेख्य सुधार हुने सम्भावना देखिँदैन,’ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

त्यसको प्रभाव तराई भूभागको दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात लगायतमा पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

मौसमविद् डाक्टर विनोद पोखरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत भोलिदेखि नेपालमा पश्चिमी वायुको प्रभाव विस्तारै पर्दै जाने हुँदा तराईमा लागेको हुस्सु हटाउन मद्दत गर्ने जानकारी दिएका छन्।

उनका अनुसार भोलि हुस्सु लागे पनि  दिउँसो हट्ने सम्भावना छ।

चिसो र शितलहरको प्रभाव बढ्दा बालबालिका, वृद्धवृद्धा तथा विपन्न समुदायको स्वास्थ्यमा असर पर्ने गरेको छ।