
नेपालअखबार,नयाँ दिल्ली । भारत र पाकिस्तानले कूटनीतिक माध्यमबाट आफ्ना आणविक प्रतिष्ठान र सुविधाहरूको सूची एक अर्कासँग साटासाट गरेका छन् । भारतीय विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै यो घोषणा गरेको जानकारी दिएको हो ।
यो सूची भारत र पाकिस्तानबिचको आणविक प्रतिष्ठान र सुविधाहरूमा आक्रमण निषेध सम्बन्धी सम्झौता अन्तर्गत साटासाट गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
सन् १९८८ को डिसेम्बर ३१ मा हस्ताक्षर भएको यो सम्झौता सन् १९९१ को जनवरी २७ मा लागू भएको बीबीसी हिन्दीले जनाएको छ । यस अन्तर्गत भारत र पाकिस्तानले प्रत्येक वर्ष जनवरी १ मा उक्त सम्झौताले समेटेका आ–आफ्ना आणविक प्रतिष्ठान र सुविधाहरू बारेमा एक अर्कालाई जानकारी दिने गर्छन् ।
दुई देशबिच योसहित ३५औँ पटक जानकारी साटासाट भएको छ । पहिलो पटक सन् १९९२ को जनवरी १ मा सूची साटासाट गरिएको थियो ।

