Thursday, July 9

अपरेसन ब्राभो सेराः एक महिनामा प्रहरीले बरामद गर्‍यो ११५ भरूवा बन्दुक

नेपालअखबार,काठमाडौं । म्याग्दीमा ठूलो संख्या अवैध हातहतियार बरामद गरिएको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालयले गत मंसिर १५ गतेदेखि अवैध भरूवा बन्दुक संकलनका लागि सुरू गरेको ‘अपरेसन ब्राभो सेरा’ अभियानबाट एक महिनाकै अवधिमा ११५ थान अवैध भरूवा बन्दुक बरामद गरेको हो।

Advertisement
Advertisement

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा तथा वन जंगलमा हुने चोरी–सिकारीलाई मध्यनजर गर्दै सञ्चालन गरिएको अवैध हातहतियार खोजी अभियानबाट अहिलेसम्मकै धेरै भरूवा बन्दुक नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।

Advertisement

उनका अनुसार सबैभन्दा धेरै रघुगङ्गा गाउँपालिका क्षेत्रबाट ४८ थान भरूवा बन्दुक बरामद भएको छ ।

अन्नपूर्ण गाउँपालिका क्षेत्रबाट १६, मालिका गाउँपालिका क्षेत्रबाट २०, मङ्गला गाउँपालिका क्षेत्रबाट  १४, धवलागिरि गाउँपालिका क्षेत्रबाट छ र बेनी नगरपालिका क्षेत्रबाट ११ थान इजाजत पत्र नभएका भरूवा बन्दुक बरामद भएको छ।

म्याग्दीमा समेत पर्ने ढोरपाटन सिकार आरक्ष, अन्नपूर्ण संरक्षण क्षेत्र र विभिन्न सामुदायिक वनहरूमा चोरी–सिकारी बढेको तथा गाउँघरमा आपसी विवाद र झै–झगडामा समते भरूवा बन्दुकको दुरूपयोग हुने जोखिम बढेकाले इजाजत पत्र नलिईकन लुकाई–छिपाई राखिएका भरूवा बन्दुकलाई सङ्कलन गरी बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय र मातहतका एकाइबाट भएका गस्ती तथा स्थानीयवासीबाट प्राप्त सूचनाका आधारमा गोठ, जङ्गल, खोलाखोल्सा तथा बसोबास नभएका खाली घरमा लुकाएर राखेको अवस्थामा अवैध बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए।

उनका अनुसार बरामद भएका धेरैजसो भरूवा बन्दुक स्थानीय स्तरमै बनाइएको र चालु अवस्थामै रहेको भेटिएको छ। इजाजत पत्र नलिईकन भरूवा बन्दुक प्रयोग गरेमा पाँच वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।